Fri. Apr 19th, 2024

कोरोना उपचार शुल्क निर्धारण, निजी अस्पतालले ३५ सयदेखि १५ हजारसम्म लिन पाउने

काठमाडौं, २०७७ साउन १५ गते बिहीबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को उपचारका लागि नीजि अस्पतालले लिने शुल्कको मापदण्ड तोकेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड-१९ सङ्क्रमितको उपचार वापत् न्युनत्तम दैनिक प्रति व्यक्ति तीन हजार पाँच सय रुपियाँ र अधिकत्तम १५ हजार नबढ्ने गरी तोकिएको जानकारी दिनुभएको छ ।

लकडाउन खुकुलो भएयता सङ्क्रमितको संख्या बढ्दैछ । पछिल्लो साता दुई अक्षरमा सङ्क्रमितको पुष्टि हुँदै आएकोमा तीन दिन यता सङ्क्रमितको संख्या दैनिक दुई सयभन्दा बढी थपिदै आएको छ । सङ्क्रमित थपिदा सरकारी कोभिड-१९ अस्पतालमा उपचार गराउने बिरामीको चाप बढेको छ ।

उपचार अभावमा बिरामी भौतारिनुपर्ने अवस्था अन्त्य गर्न सरकारले सूचीकृत नीजि अस्पतालमा पुग्ने सङ्क्रमितको उपचारमा लाग्ने शुल्क तोकेको हो । सरकारले कोभिड-१९ उपचारका लागि लेभल-१,२ र ३ गरी तीन तहमा अस्पतालको वर्गीकरण गरी सूचीकृत गरेको छ ।

मन्त्रीपरिषद्को असार १५ गतेको बैठकले कोरोनाभाइरस(कोभिड-१९) को सङ्क्रमणको उपचार वापत् अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७ लाई संशोधनसहित स्वीकृत गरेको थियो । उक्त आदेशको दोस्रो बुँदामा कोभिड-१९ को शंकास्पद तथा सङ्क्रमितको उपचार निशुल्क हुने उल्लेख गरिएको छ ।

आदेशले सङ्क्रमितलाई अस्पतालमै भर्ना गरी उपचार गर्नुपरेको अवस्थामा सरकारी अस्पतालबाट मात्र सेवा उपलब्ध गराउन नसकिने अवस्था सम्बन्धमा समेत सम्बोधन गरेको छ । यस्तो अवस्थामा निजी, गैरसरकारी, सहकारी तथा सामुदायिक अस्पतालमा समेत उपचार गर्ने व्यवस्था मिलाउन सकिने उल्लेख गरिएको छ ।

सामान्य लक्षण भएका कोरोना सङ्क्रमित बिरामीको उपचार वापत् नीजि अस्पतालले दैनिक तीन हजार पाँच सय रुपियाँ लिने व्यवस्था गरिएको छ । मध्यम जटिल बिरामीको उपचार गरे वापत् नीजि अस्पतालले दैनिक सात हजार रुपियाँ लिन पाउनेछन् । त्यसैगरी, आईसीयू तथा भेन्टिलेटरको आवश्यकता हुने कोभिड-१९ सङ्क्रमितको उपचार गरे वापत् दैनिक १५ हजारमा नबढ्ने गरी उपचार गर्ने व्यवस्था कार्यान्वयन गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

तर मन्त्रालयले तात्काल उपचारका लागि निजी अस्पतालमा भर्ना हुने बिरामीलाई सरकारले उपचार खर्च उपलब्ध नगराउने प्रष्ट्याएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी अस्पतालमा उपचार गर्न चाहने बिरामीका लागि सरकारले शुल्क निर्धारण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड-१९ का लागि सरकारी अस्पतालमा देशभरि दश हजार बेड क्षमता छ, त्यस अन्तगर्त शुल्क लाग्दैन ।” “निजी अस्पतालमा उपचार गराउने बिरामीको उपचार खर्चमा एकरुपता ल्याउन शुल्क निर्धारण गरिएको हो ।”-डा. गौतमले थप्नुभयो । सरकारी अस्पतालको क्षमता पुरा भएपछि निजी अस्पतालमा भर्ना हुने अवस्थामा अहिलेको आदेश परिमार्जन हुन सक्ने उहाँले खुलाउनुभयो ।

राजधानी काठमाडौं अतिरिक्त देशबाहिरका सरकारी अस्पतालमा आईसीयू र भेन्टिलेटरको संख्या थोरै मात्रामा रहेको छ । नीजि तथा शिक्षण अस्पतालमा यसप्रकारको सुविधा उपलब्ध रहेपनि चर्को शुल्कका कारण बिरामी मारमा पर्दै आएका छन् ।

विश्वब्यापी महामारीको बेला सरकारले कोभिड-१९ बाट सङ्क्रमितको उपचारमा सहुलियत र एकरुपता ल्याउन यस प्रकारको मापदण्ड ल्याएको मन्त्रालयले जनाएको छ । सरकारले भने कोभिड-१९ सङ्क्रमितको उपचार निशुल्क हुने यसअघि नै प्रयट्यास्केको छ। यद्दपी भुक्तानीको माध्यमबारे प्रष्ट गरिसकेको छैन्। गोरखापत्र अनलाईनबाट

Facebook Comments