Wed. Apr 24th, 2024

समुदायमा कोरोना देखिएपछि नेपालगन्जमा निषेधाज्ञा

बुटवल, २०७७ साउन १५ गते बिहीबार

 समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि बाँकेको नेपालगन्जमा  तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्लो पटक रेन्डम सेम्पलिङ्ग गरी पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

नेपालगन्जमा बिहीबार बसेको बाँके जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले आइतबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

‘शुक्रबार र शनिबार उच्च सतर्कता अपनाउँदै पहिलो चरणमा आइतबारदेखि तीन दिनसम्म नेपालगन्जका सबै वडामा तीन दिनसम्म पूर्णरुपमा कफ्र्यू -निषेधाज्ञा) लगाउने निर्णय भएको छ,’ प्रजिअ कुरुम्बाङले भने, ‘त्यतिन्जेलको अवस्था हेरेर त्यसपछि के गर्ने अर्को निर्णय गर्छौं ।’

नेपालगन्जमा बिहीबार बिहान मात्रै २७ जनामा कोरोना पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा नेपालगन्जका २० जना र बाहिर जिल्लाबाट आएर बसेका ७ जना सरकारी कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

बाहिर जिल्लाका ७ जनासहित आन्तरिक राजश्व कार्यालय नेपालगन्जका ११ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार क्वारेन्टाइनमा नरहेका विद्यार्थी र कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

बाँकेमा क्वारेन्टिनमा बसेकामा कोरोना संक्रमण घटिरहेका बेला समुदायमा रेन्डम स्याम्पलिङ्गबाट परीक्षण गर्दा पुनः कोरोना पाजेटिभ देखिंदा जोखिम बढेका प्रजिअ कुरुम्बाङले बताए ।

सरकारी कर्मचारीहरुमा कोरोना देखिएपनि उनीहरुलाई कोबाट सर्‍यो भन्ने एकिन हुन सकेको छैन ।

कर्मचारीलाई सेवा दिँदा कोरोना लागेको हुनसक्ने सम्भावना रहेपनि कोबाट कसरी सर्‍यो भन्ने यकिन नहुँदा समुदायमा कोरोना फैलिएको आशंकालाई बल पुगेको छ ।

यसअघि पनि आन्तरिक राजश्व कार्यालय र यातायात कार्यालय नेपालगन्जका कर्मचारीमा कोरोना पुष्टि भएको थियो । त्रिभुवन चोकमा गरिएको रेन्डम सेम्पलिङमा पनि मिठाई पसले र आन्तरिक राजश्वका एक अधिकृतलाई कोरोना लागेको पुष्टि भएको थियो ।

सरकारले लकडाउन अन्त्य गरेको अवस्थामा बजारमा रहेको चहलपहल, सुरक्षा मापदण्डमा गरिएको लापरबाहीले थप जोखिम निम्त्याएको सरकारी अधिकारीहरु नै स्वीकार गर्छन् । अनलाईन खवरबाट

Facebook Comments