Sat. Apr 20th, 2024

तयार भयो नयाँ पाठ्यक्रम अनुसार कक्षा ११ को पुस्तक

काठमाडौं, २०७७ साउन ११ गते आईतबार

पाठ्यक्रम विकास केन्द्रले परिवर्तित पाठ्यक्रम अनुसार कक्षा ११ को नयाँ पुस्तक तयार गरेको छ। केन्द्रले विज्ञको सहयोगमा अनिवार्यतर्फका तीन वटा विषयको पुस्तक तयार पारेको हो। केन्द्रका निर्देशक गणेश भट्टराईका अनुसार अनिवार्य नेपाली, अंग्रेजी र सामाजिक विषयको पुस्तक तयार भएको छ।

‘यी पुस्तकहरु एक साताभित्रमा छपाइका लागि छापाखानामा पठाइनेछ’, भट्टराईले भने, ‘ऐच्छिकतर्फका पुस्तक छपाइको अनुमति पछि दिइनेछ।’ परिवर्तित पाठ्यक्रम अनुसार कक्षा ११ मा ६ वटा विषयको पढाइ हुनेछ। जसमा तीन वटा अनिवार्य र तीनवटा ऐच्छिक विषयको पढाइ हुनेछ। केन्द्रले अनिवार्य तर्फको पुस्तक मात्र छपाइ गर्नेछ। जुन जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापिनेछ।

ऐच्छिक विषयको पुस्तक भने बाह्य लेखकले लेख्नेछन्। तर केन्द्रले तोकेको पाठ्यक्रमको ढाँचामा लेखिएको पुस्तक केन्द्रले नै स्वीकृति दिएपछि मात्र बजारमा बेच्न पाइनेछ। कक्षा ११ र १२ मा गरेर एक सयभन्दा बढी ऐच्छिक विषय हुनेछन्। तीमध्ये विद्यार्थीको रोजाइमा रहेका मुख्य विषयहरुको पाठ्यक्रम तयार भइसकेका छन्। केही विषयको पाठ्यक्रम बन्ने क्रममै रहेको भट्टराईले बताए।

केन्द्रले यही वर्षदेखि लागु हुने गरी कक्षा १ को पुस्तक पनि परिवर्तन गरेको छ। २०८० सालभित्रमा कक्षा १२ सम्मकै पुस्तक फेरिनेछन्। सरकारले कक्षा १ देखि १२ सम्मको पढाइलाई विद्यालय तहमा गाभेपछि पढाइको शैली पनि बदलिएको छ। यो परिवर्तनसँगै कक्षा ११ मा एउटा विद्यालयमा पढेको विद्यार्थी कक्षा १२ को पढाइका लागि अर्को विद्यालयमा पनि जान सक्नेछ। किनकी कक्षा १२ मा पनि कक्षा ११ मा जुन विषय पढ्नुपर्ने बाध्यकारी व्यवस्था नयाँ पाठ्यक्रमले बनाएको छ। अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments