Wed. May 8th, 2024

बामदेवका लागि क्षेत्र छाड्न तयार छु, संविधान संशोधन नगरौं : सांसद खगराज

काठमाडौं, २०७७ बैशाक १९ गते शुक्रबार

कास्की क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले बामदेव गौतमका लागि राजीनामा दिएर निर्वाचन क्षेत्र खाली गर्न तयार रहेको बताउनु भएको छ ।

उहाँले बामदेवलाई प्रधानमन्त्री बन्ने बाटो खोल्नका लागि संविधान संशोधन गरिराख्न जरुरी नभएको बताउनु भएको छ । सांसद अधिकारी कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुनुहुन्छ । प्रधानमन्त्रीले नै सचिवालय बैठकमा बामदेवलाई प्रधानमन्त्री बनाउने गरी राष्ट्रिय सभामा लैजान प्रस्ताव गरेपछि अधिकारीले बामदेवका लागि संविधान संशोधन आवश्यक नरहेको बताउनु भएको हो ।

देश र पार्टीका निम्ति बामदेवको आवश्यकता हो भने आफ्नो निर्वाचन क्षेत्र छोड्न तयार रहेको अधिकारीले अनलाइनखबरलाई बताउनु भयो । ‘पार्टीले निर्णय गरेको खण्डमा र पार्टी तथा सरकारलाई चाहिएको खण्डमा जो कोहीले पनि छोड्न तयार हुनुपर्छ,’ अधिकारीले अनलाइनखबरसँग भन्नुभयो, ‘बामदेवकै आवश्यकता हो भने मेरा मतदाताको उच्च सम्मान गर्दै म पनि छोड्न तयार छु । संविधान संशोधन गर्न जरुरी छैन ।’

संसदमा व्यक्तिको प्रवेश गराउन संविधान संशोधनबाहेक अरु उपाय पनि रहेको अधिकारीको भनाइ छ । आफूले जनताकै लागि त्यागको राजनीति गर्दै आएको र आवश्यक परे अब पनि त्याग गर्न तयार रहेको अधिकारीले बताउनु भयो ।

‘देश र जनताका निम्ति काम गर्न अरु जिम्मेवारी पनि पाउन सकिन्छ । मतदाताले जिताएर पठाएका हुन् । जनताको सम्मान र सुखदुखमा सधैं सँगै छु,’ अधिकारीले अनलाइनखबरसँग भन्नुभयो, ‘हामी सधैं चुनावका लागिमात्र पनि होइनौं । जनता, देश र पार्टीलाई आवश्यक पर्दा म सबथोक छाड्न तयार छु ।’

यो संविधान संशोधन गर्ने विषय हो कि होइन भनेर हेनुपर्ने उहाँको भनाई छ । संविधान कार्यान्वयनका क्रममै संशोधन गर्नु उचित नहुने अधिकारीले बताउनु भयो । ‘संविधान कार्यान्वयन गर्ने क्रममै छौं । संशोधन गर्ने बेला भएको छैन । पहिले कार्यान्वयन गरौं । दुईतिहाईको समर्थन भएपछि संशोधन नहुने भन्ने होइन,’ अधिकारीले भन्नुभयो, ‘व्यक्तिलाई संसदमा लैजान अरु बाटो पनि छन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको नेकपा सचिवालय बैठकमा सरकार फेर्नुपर्ने अवस्थामा बामदेवलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गर्नुभएको थियो ।

राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन सक्ने गरी संविधान संशोधन गरेर बामदेवलाई राष्ट्रिय सभामा ल्याउने वा प्रतिनिधि सभाको कुनै एक क्षेत्र खाली गराएर निर्वाचनमार्फत ल्याउने भन्नेमा नेकपाभित्र छलफल चलिरहेका बेला सांसद अधिकारीले उपनिर्वाचनको बाटो खोलिदिने बताउनु भएको हो ।

यसअघि पनि बामदेवलाई राष्ट्रिय सभामा लैजानका निम्ति प्रयास हुँदा विवाद र आलोचना भएको थियो । बामदेवकै ठाउँ खाली गर्न काठमाडौं-७ का एमाले सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाएको भन्दै आलोचना भएको थियो । त्यसपछि कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमाबामदेवको नाम आएको थियो । रवीन्द्र अधिकारीको निधनपछि कास्कीमा भएको उपनिर्वाचनमा अन्तिमसम्म पनि बामदेवको चर्चा थियो । बामदेवले अस्वीकार गरेपछि रवीन्द्रपत्नी विद्या भट्टराईलाई टिकट दिइएको थियो भनि अनलाईन खवरले समाचार लेखेको छ ।

Facebook Comments