Thu. Dec 26th, 2024

जाजरकोट भूकम्प प्रभावितहरु चिसोको मारमा 

काठमाण्डू, २०८० कात्तिक २१ गते मंगलबार । जाजरकोट लगायतका जिल्लाका भूकम्प प्रभावितहरु चिसोको मारमा पर्न थालेका छन् ।

गएको शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा गएको ६ दशमलव ४ रिक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा धेरै असर परेको छ । शुक्रवार रातिदेखि नै  प्रभावितहरु घर बाहिर छन् । केहीले टेन्ट, त्रिपाल पाए पनि धेरैजसोले नपाएको गुनासो गरेका छन् । यस्तै, ओढ्ने र ओछ्यान नहुँदा चिसो भुइँमा पीडितहरुले रात कटाइरहेका छन् । चिसोका कारण सुत्केरी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक बढी समस्यामा परेका छन् । भूकम्प  पीडितहरु राहतको पर्खाइमा छन् । खाद्यान्नलगायत राहत नपुग्दा पीडितहरू मर्कामा परेका हुन् ।

राससका अनुसार चिसोमा रात कटाउन उनीहरूलाई मुस्किल परेको छ । भूकम्प पीडितहरूका लागि भनेर विभिन्न संघसंस्थाले जाजरकोटमा राहत पुर्याएका छन्  । तर, वितरणमा ढिलाइ भएको छ भने पीडित समक्ष छिटोभन्दा छिटो राहत पुर्याउन लागि परेको स्थानीय सरकारले जनाएका छन् । जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीले उद्धार र राहतका लागि दिनरात खटिएको बताउनु भयो । केही क्षेत्र अति विकटमा रहेकाले राहत पुर्याउन कठिन भएको उहाँको भनाइ छ ।

क्षतिको तथ्याङ् सङ्कलनमा ढिलाइ हुँदा राहत वितरणमा समस्या भएको उहाँले बताउनुभयो । सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ । हिजोको मन्त्रिपरिषद् बैठकले पीडितलाई तीन दिनभित्र राहत पुर्याउन निर्देशन दिएको छ  । यस्तै, भूकम्पमा परेर ज्यान गुमाएकाका परिवारलाई सङ्घ र प्रदेश सरकारबाट दुई-दुई लाख रुपैयाँ तत्काल दिने तयारी भएको छ ।

यसैबीच जाजरकोटमा फेरि पनि भूकम्प गएको छ । आज  दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन् । गएको शुक्रवार राति जाजरकोटमै केन्द्रविन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरेर १ सय ५३ जनाको ज्यान गएको छ ।

Facebook Comments