Thu. Dec 26th, 2024

जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १ सय ५३

काठमाण्डू, २०८० कात्तिक २१ गते मंगलबार । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या घटेको छ । स्थानीय प्रशासनले यसअघि जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको जनाएको थियो ।

जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्का एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले ४ जनाको संख्या दोहोरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले प्रस्ट्याउनु भएको छ ।यसअघि नलगाड नगरपालिकामा ५५ जनाको मृत्यु भएको तथ्यांक प्रशासनले दिएको थियो ।

अहिले नलगाडमा ५१ जनाको मृत्यु भएको संख्या यकिन भएको प्रजिअ सुनारले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुनिल थापा नेपालीका अनुसार नलगाड नगरपालिका ८ की सरिता सिंह, नलगाड ७ का रेगम सिंह, नलगाड १२ की मिना बिष्टको नाम दोहोरिएको हो । त्यस्तै टेकबहादुर पुनको सम्बन्धमा व्यक्ति एउटै भए पनि नाम दुईवटा हुँदा संख्या दोहोरिएको थियो ।

जाजरकोटको भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ । त्यस मध्ये २८ जना महिला र १४ जना पुरुष छन् । जाजरकोटकै नलगाड नगरपालिकामा ५१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको गरी १ सय १ जनाको मृत्यु भएको छ । त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

दुवै जिल्लामा गरेर ज्यान गुमाउनेको संख्या जम्मा १ सय ५३ मात्र निश्चित भएको प्रजिअ सुनारले बताउनु भयो । भूकम्पबाट अहिलेसम्म मृत्यु हुनेमा ९७जना महिला र ५६ जना पुरुष रहेका छन् । रासस

Facebook Comments