२०८३ मंसिर ३, बिहीवार

एपेक सम्मेलनमा ट्रम्प र सीबीच द्विपक्षीय वार्ता   

- एसिया-प्रशान्त आर्थिक सहयोग (APEC) को ३३ औँ शिखर सम्मेलन

बिहीबार, नोभेम्बर १९, २०२६ का दिन चीनको ग्वाङडोङ प्रान्तको शनचनमा आयोजित 'एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन' (APEC) शिखर सम्मेलनका क्रममा, सामूहिक तस्बिर खिचाउनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (बायाँ) ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हात मिलाउँदै। (ग्रेग बेकर/पुल फोटो, एपी मार्फत)

       

शनचन (चीन) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा द्विपक्षीय वार्ता भएको छ । विश्व व्यापार, आणविक हतियार नियन्त्रण र अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीबीच भएको यस भेटलाई दुई शक्तिराष्ट्रबीचको सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि द्विपक्षीय भेट गर्नुभएको थियो । उहाँले पुटिनसँगको भेटबाट सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्दै त्यसपछि अर्को बैठकसमेत हुन सक्ने बताउनुभएको थियो ।

ट्रम्पले सी र पुटिनसँग तीनै देशको साझा हित तथा अन्तर्राष्ट्रिय अवसरबारे छलफल गर्न प्रस्तावित त्रिपक्षीय बैठकको प्रतीक्षा गरिरहेको बताउनुभएको थियो । उहाँले यसलाई ऐतिहासिक अवसरको संज्ञासमेत दिनुभएको थियो ।

तीन नेताबीच आणविक हतियार नियन्त्रण, इरानसँग जारी द्वन्द्व, विश्व व्यापार तथा रुस-युक्रेन युद्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

यसअघि सी र पुटिनबीच पनि सेन्जेनमा द्विपक्षीय वार्ता भएको थियो । भेटमा दुवै नेताले चीन-रुस सम्बन्धको सुदृढीकरण र बहुध्रुवीय विश्व व्यवस्थालाई अघि बढाउने प्रतिबद्धता दोहोर्‍याउनुभएको थियो । सीले दुई देशबीचको सम्बन्धलाई प्रतिकूल परिस्थितिमा पनि पहाडझैँ अडिग रहेको बताउनुभएको थियो भने पुटिनले चुनौतीपूर्ण अन्तर्राष्ट्रिय परिस्थितिका बाबजुद आपसी राजनीतिक सहकार्य रचनात्मक रहेको उल्लेख गर्नुभएको थियो ।

प्रस्तावित त्रिपक्षीय छलफल अमेरिका र रुसबीचको नयाँ स्टार्ट आणविक हतियार नियन्त्रण सन्धि समाप्त भएपछि अन्तर्राष्ट्रिय हतियार नियन्त्रणको विषयले पुनः महत्त्व पाएका बेला हुन लागेको हो । अमेरिकाले चीनलाई पनि व्यापक आणविक हतियार कटौतीसम्बन्धी वार्तामा सहभागी गराउन खोजिरहेको छ । तर चीनले अमेरिका र रुससँग तुलनात्मक रूपमा निकै ठूलो आणविक हतियार भण्डार रहेको भन्दै प्रत्यक्ष वार्तामा सहभागी हुन अनिच्छा देखाउँदै आएको छ । एएनआई

Facebook Comments