Fri. May 17th, 2024

सीमा स्थिरतामा ‘सहयोग’ गर्न चीनको म्यान्मासँग आग्रह

काठमाण्डू, २०८० कात्तिक २१ गते मंगलबार । म्यान्मा(म्यानमार) को जुन्ता सरकारसँग लडिरहेको सशस्त्र समूहहरूले एउटा रणनीतिक व्यापारिक चौकीलाई कब्जामा लिएको भन्दै चीनका एक वरिष्ठ कूटनीतिज्ञले साझा सीमा स्थिरतामा ‘सहयोग’ गर्न म्यान्मासँग आग्रह गर्नुभएको छ ।

चिनियाँ सहायक विदेशमन्त्री नोङ रोङले शुक्रबारदेखि आइतबारसम्म गर्नुभएको म्यान्माको भ्रमणमा त्यहाँका उच्च अधिकारीहरुसँग सो आग्रह गर्नुभएको हो । २३  हजार सर्वसाधारणलाई घरबाट विस्थापित हुन बाध्य पारिएको झडपहरूबारे उहाँले जुन्ता अधिकारीहरूसँग कुराकानी गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घले झडपका क्रममा २३ हजार नागरिक घर छाड्न बाध्य भएको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयले पनि म्यान्मासँग चीन-म्यान्मा सीमामा स्थिरता कायम राख्न चीनलाई सहयोग गर्न आह्वान गरिएको समाचार पुष्टि गरेको छ । विदेश मन्त्रालयका अनुसार नोङले भ्रमणका क्रममा म्यान्माका उपप्रधान तथा विदेशमन्त्री थान स्वे र उपविदेशमन्त्री ल्विन ऊसँग भेट गर्नुभएको पैचिङले जनाएको छ । चीनले जुन्ता सरकारसँग चिनियाँ सीमा क्षेत्रका बासिन्दाको जीवन र सम्पत्तिको सुरक्षालाई इमान्दारीपूर्वक सुनिश्चित गर्न र म्यान्मामा चिनियाँ कामदार, संस्थान र परियोजनाहरूको सुरक्षा सुदृढ पार्नका लागि प्रभावकारी कदम उठाउन पनि आग्रह गरेको छ ।

पूर्वउत्तर शान राज्यमा म्यान्माका जातीय अल्पसङ्ख्यक समूहहरूको गठबन्धनले सुरु गरेको हालैको हमलालाई सन् २०२१ मा सत्ता कब्जा गरेपछि जुन्ता सरकारसामु सबैभन्दा ठूलो सैन्य चुनौती ठानिएको विश्लेषकहरूले बताएका छन् । छिमेकी कचिन राज्यस्थित जातीय सशस्त्र समूह कचिन इन्डिपेन्डेन्स आर्मी (केआइए) आफ्नो सेनामाथि आक्रमणमा सामेल भएको जुन्ताले शनिबार बताएको थियो ।

स्थानीय मिडियाका अनुसार जुन्ताले चिनियाँ सीमामा के.आइ.ए.को मुख्यालय रहेको सुदूर सहर लाइजामा गोलाबारी गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

Facebook Comments