Sun. May 19th, 2024

शेयर बजार घट्यो

काठमाण्डू, २०८० असोज २२ गते सोमबार । साताको दोस्रो कारोबार दिन पनि शेयर बजार घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक १२.५८ अंक घटेर १९०८.६६ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो १ अर्ब ८० करोडको शेयर कारोबार भएकोमा आज १ अर्ब १७ करोड १ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.८८ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ ।

आज दुई वटा स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको आज ३ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक ०.४९ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०६ प्रतिशत बढेको छ । जीवन बीमा उपसमूहको परिसूचक आज सर्वाधिक १ प्रतिशत घटेको छ ।

Facebook Comments