Mon. May 6th, 2024

जिल्ला अदालत काठमाण्डूमा पारिवारिक इजलास शुरू

काठमाण्डू, २०८० असोज २२ गते सोमबार । जिल्ला अदालत काठमाण्डूमा आजदेखि पारिवारिक इजलासको सुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलासको शुभारम्भ गर्नुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले आफू प्रधानन्यायाधीश बन्दै गर्दा संसदीय सुनुवाइमै जिल्ला अदालत काठमाण्डूमा पारिवारिक इजलासको सुरूवात गर्ने र आवश्यकता अन्य अदालतमा विस्तार गर्ने योजना अघि सारेअनुसार नै इजलास गठन सुरु गरिएको बताउनुभयो ।

“न्यायिक इतिहासमा पहिलो पटक पारिवारिक इजलास सुरूवात गरिएको छ”, उहाँले भन्नुभयो, “यो इजलासमा बालबालिका र महिलावादी मुद्दाको छिटोछरितो रूपमा न्याय निरूपण हुनेछ ।” उहाँले इजलास सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले महिलाले अङ्श पाउने मुद्दामा इजलासले द्रुत सेवा दिने र यो इजलास आगामी दिनमा भक्तपुर र ललितपुरमा विस्तार गरिने जानकारी दिनुभयो । सुरूमा नियमितरूपमा दुई वटा इजलास सञ्चालन हुने उहाँको भनाइ छ । न्यायपालिकाको चौँथो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार न्यायमा पहुँच सुनिश्चित गर्न, छिटोछरितो तथा गुणस्तरीय न्याय सम्पादन गर्न र न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धिका लाग उक्त इजलास गठन गरिएको हो ।

प्रधानन्यायाधीश श्रेष्ठको कार्ययोजनाको अवधारणा र कार्ययोजना अनुरूप सर्वोच्च अदालत मुद्दा व्यवस्थापन समितिको निर्णयानुसार परिवारिक इजलासबाट हाललाई अंश, नाता कायम, घरेलु हिंसा र बालबालिकाको संरक्षक भई दायर भएका अंश, विशेष हेरचाहलगायत बालबालिकाको हितसँग सम्बन्धित देवानी प्रकृतिका मुद्दाको सुनुवाइ हुनेछ । रासस

Facebook Comments