Wed. Dec 25th, 2024

इजरायलमा भएको आक्रमणमा परी १२ जना नेपाली विद्यार्थी सम्पर्क विहीन : परराष्ट्रमन्त्री  साउद 

- हमास-इजरायल युद्ध २०८०.६.२०

प्रतिनिधिसभाको आइतबारको बैठकमा इजरायलमा नेपालीको अवस्थाबारे संसदमा जानकारी दिँदै परराष्ट्रमन्त्री एन पी साउद । तस्बिर : रत्न श्रेष्ठ, रासस

काठमाण्डू, २०८० असोज २१ गते आईतबार । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा भएको आक्रमणमा परी १२ जना नेपाली विद्यार्थीहरु सम्पर्क विहीन भएको जानकारी दिनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै मन्त्री साउदले दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा बसेर अध्ययन गरिरहेका १२ जना नेपाली विद्यार्थीहरु सम्पर्कविहीन भएकोजानकारी दिनुभएको हो । सो स्थानमा १७ जना विद्यार्थीहरु रहेकामा २ जना सकुशल अवस्थामा रहेका, ३ जना घाईते विद्यार्थीको स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जना सम्पर्क विहीन भएकाले उनीहरुको अवस्थाको यकिन गर्न नसकिएको मन्त्री साउदले जानकारी दिनुभयो । उनीहरुको अवस्था यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको पनि उहाँले बताउनु भयो ।

मन्त्री साउदले आजै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरु सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको र सो संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरुको अवस्था पहिचान गर्ने, उद्दार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्न आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरु गर्ने जानकारी दिनुभयो । उहाँले इजरायलमा हाल ४ हजार ५०० नेपालीहरु केयर गिभरको रुपमा कार्यरत रहेका बताउनु भयो ।

त्यस्तै २ सय ६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत गएका मध्ये कृषि विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना रहेका उल्लेख गर्नुभयो । सम्पर्क विहिन हुनेहरुमा सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरु रहेको उहाँको भनाई छ ।

मन्त्री साउदले उनीहरुको सुरक्षाको प्रत्याभुति गर्न परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र र सम्पर्क परिचालन गरेको बताउनु भयो । परराष्ट्र मन्त्रालयले नेपाली राजदुतावासलाई नेपालीहरुको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराइ सुरक्षित रुपमा रहन इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नको लागि नेपालीहरुलाई जानकारी गराउन निर्देशन दिइसकिएको पनि उहाँले बताउनु भयो । मन्त्री साउदले नेपाली राजदुतावासले इजरायलमा रहेका नेपालीहरुलाई आवश्यक जानकारी सम्प्रेषण गर्ने इजरायल सरकारसँग समन्वय गरी आवश्यक उद्धार र घाइते नेपाली नागरिकको उपचारका लागि पहल कदमी लिइरहेको स्पष्ट पार्नुभयो ।

मन्त्री साउदले इजरायलको सुरक्षा वातावरण केही समयसम्म जटिल र संवेदनशील रहने देखिएको भन्दै इजरालयमा रहेका नेपालीलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । यसैविच पछिल्लो समाचार अनुसारइजरायलमा हिजो भएको हमलामा परि ७ जना नेपालीको मृत्यु भएको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा हमास समूहको आक्रमणमा परी ७ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले जानकारी दिनुभयो । यद्यपि मृत्युबारेनेपाली दूतावास इजरायलले औपचारिक जानकारी नआएको बताएको छ । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको बताउनुभयो ।

Facebook Comments