Mon. Apr 29th, 2024

भारतमा २१ दिनका लागि ‘लक डाउन’ कोरोनाको त्रास बढ्दो

काठमाडौं, २०७६ चैत १२ गते बुधबार

भारतमा २१ दिनको लागि लक डाउनको घोषणा गरिएको छ ।

मङ्गलबार मध्यरातबाट सुरु हुने लक डाउन अप्रिल १४ तारेखसम्म चल्नेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको नाममा सम्बोधन गर्नुहुँदै २१ दिनको लागि भारत पूर्णरुपमा लक डाउन हुने घोषणा गर्नुभएको हो । उहाँले २१ दिन लामो समय रहेपनि समाज र नागरिकको सुरक्षाको लागि एकमात्र विकल्प लागू गरिएको बताउनुभयो ।

उहाँले २१ दिने लक डाउनको क्रममा सडकमा नआउन आग्रह गर्नुभयो । सम्बोधनको क्रममा उहाँले प्रधानमन्त्रीको रुपमा नभई परिवारको सदस्यको रुपमा आफ्नो आग्रहलाई स्वीकार गरी पछ्याउन आग्रह गर्नुभयो । भारतको भन्दा उच्चतम् स्वास्थ्य पूर्वाधार, प्रविधि र प्रणाली रहेको अमेरिका र इटाली जस्तो शक्तिशाली राष्ट्रले कोरोना भाइरसको संक्रमणको जोखिममा परेको बताउनुहुँदै उहाँले कोरोनाबाट बच्न एकमात्रै उपाय अवलम्बन गर्न लागिएको उल्लेख गर्नुभयो ।

संक्रमित एकजनाबाट सयौंमा फैल्न सक्ने हुनाले घरबाट बाहिर नआउन उहाँले नागरिकमा आग्रह गर्नुभयो । प्रधानमन्त्री मोदीले कोरोना भाइरसको संक्रमणको सामना गर्न १५ खर्बको कोष परिचालन गरिने घोषणा गर्नुभयो । उक्त बजेट नागरिकको व्यक्तिगत् सुरक्षा, आइसोलेशन शैय्या, भेन्टिलेटरको संख्या यथासक्दो छिटो बढाउन सकिने कार्यको लागि खर्च गरिने जानकारी दिनुभयो भनि गोरखापत्र अनलाईनले समाचार छापेको छ ।

विविसीका अनुसार भारतमा कोरोना संक्रमितहरुको संख्या ४ सय ९१ जना पुगेको छ जसमध्ये हालसम्म १० जनाले ज्यान गुमाएका छन् । भारतका ३० राज्य तथा केन्द्र शासित प्रदेशमा पूर्ण रुपमा लकडाउन आदेश जारी गरिएको छ । त्यसैगरी भारतका २२ राज्यका ७५ जिल्लाहरुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । कोरोनाबाट महाराष्ट्र, कर्नाटक, केरला, दिल्ली-एनसीआर र उत्तर प्रदेश सबैभन्दा धेरै प्रभावित छन् ।

Facebook Comments