Sat. Apr 27th, 2024

प्रधानमन्त्रीसँग बार एशोसिएसनका पदाधिकारीको छलफल

काठमाण्डू, २०७९ चैत ३० गते बिहीबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले छलफल गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकारी, पूर्वपदाधिकारी र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारी उपस्थित हुनुहुन्थ्यो ।

भेटमा प्रधानमन्त्री दाहालले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । छलफलमा बारका पदाधिकारीले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक राखी प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

संसदीय सुनुवाइ समिति गठन गर्ने विषयमा पनि बारका पदाधिकारीले प्रधानमन्त्रीसँग छलफल गरेका बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषद्का पदाधिकारीसँग परामर्श गरी तत्काल बैठक बोलाएर आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस

Facebook Comments