Wed. Apr 24th, 2024

नौमतीबाजा सहित चिनियाँ पर्यटकहरुको स्वागत

काठमाण्डू, २०७९ चैत ३० गते बिहीबार । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नौमती बाजा सहित स्वागत गरिएको छ ।

चिनियाँ पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरुले खादा, माला लगाइदिएर स्वागत गर्नुभएको हो ।

आज बिहान १ सय ८१ जना चिनियाँ पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आउनु भएको थियो । चिनियाँ पर्यटकहरुलाई स्वागत गर्दै मन्त्री किराँतीले नेपाल र चीनको सम्बन्धका बारेमा प्रकाश पार्नुभयो । उहाँले नेपाल र चीनको सम्बन्ध पौराणिक भएको र दुई देशका जनताबीचको सम्बन्ध नयाँ उचाइमा पुर्‍याउने चाहना भएको बताउनु भयो ।

चिनियाँ पर्यटकहरु एक साता नेपालमा रमाउने छन् । त्यसपछि एक महिनाको अवधिमा विभिन्न समूहमा ७ सयभन्दा बढी पर्यटकहरुले नेपालको भ्रमण गर्ने तालिका रहेको छ । उहाँहरुले काठमाडौं, पोखराको भ्रमण र पुनहिलाको पैदल यात्रा गर्नुहुने छ ।

कोरोना महामारीपछि गत फागुन १ गते चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि समावेश गरेपछि चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आउन थालेका हुन् । चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूची सार्वजनिक गरेको थियो । त्यसयता चिनियाँ पर्यटक एकल र समूहगत रूपमा नेपाल घुम्न आउने परेका छन् ।

चीनले कोरोना महामारीको नियन्त्रणको उपाय स्वरुप शून्य कोरोना नीति अन्तर्गत सन् २०२० को जनवरी अन्त्यदेखि लागू हुने गरी आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाउँदै आएको थियो ।

Facebook Comments