Mon. Apr 29th, 2024

एक दिन पनि टिकेन शेयर बजारको वृद्धि

काठमाण्डू, २०७९ चैत ३० गते बिहीबार । भारी अंकले उछाल आएको भोलिपल्टै शेयर बजारमा पहिरो गएको छ । हिजो ९२ अंकले वृद्धि भएको शेयर बजार आज २९.०७ अंकले घटेर नेप्से परिसूचक १९३४ विन्दुमा ओर्लेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन करिब २ अर्बको शेयर खरिदबिक्री भएकोमा आज २७० स्टकको ४४ हजार ७०८ पटकको कारोबारमा १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ४९ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । साताको अन्तिम कारोबार दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

आज आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मोलुङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, आज गरिमा विकास बैंकको ऋणपत्रको मूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कारोबार रकमका आधारमा आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य सर्वाधिक ५.५० प्रतिशत घटेको छ ।

आज कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ८ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस दिन हिमालयन डिष्टिलरी को ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमध्ये विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बैंकिङ्ग, वित्त, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै बढेको छ ।

Facebook Comments