Thu. Apr 18th, 2024

भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतसमक्ष आग्रह

काठमाण्डू, २०७९ चैत ३० गते बिहीबार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गर्नुभएको छ ।

जहाज चार्टर्ड गरेर नेपाल आएको एक सय ८० जना चिनियाँ पर्यटकलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि विमानस्थलमै चिनियाँ राजदूतसँगको भेटमा मन्त्री किरातीले भैरहवा र पोखराबाट पनि चीनसम्म सिधा उडानका लागि आवश्यक सहयोग र पहल गर्न राजदूतलाई आग्रह गर्नुभएको हो ।

पर्यटनमन्त्री किरातीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको उल्लेख गर्दै कोभिड महामारीपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा आएको पर्यटकको समूहलाई स्वागत गर्दै उहाँहरुको नेपाल बसाई सुखद् रहोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्री किराती, नेपालका लागि चिनियाँ राजदूत छेनसोङ, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले स्वागत गर्नुभएको थियो । चिनियाँ पर्यटकलाई विमानस्थलमै खादा मालासहित पञ्जेबाजा बजाएर स्वागत गरिएको पर्यटन बोर्डले विज्ञप्ति मार्फत जनाएको छ ।

कोरोना महामारीपछि चीनबाट पहिलो पटक चार्टर्ड उडानबाट चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । चिनियाँ राजदूत सोङले नेपाल चिनीयाँ पर्यटकहरुको रोजाइको गन्तव्य भएको बताउँदै नेपालको पर्यटन विकासको लागि चीन सधैँ सकारात्मक भएको बताउनुभयो । उहाँले कोभिडपछि चिनीयाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएकोले अब नेपाल आउने चिनीयाँ पर्यटकहरुको संख्या क्रमशः बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले कोभिडपछि सन २०२३ मा नेपालको पर्यटन लयमा फकिर्दै गएको उल्लेख गर्दै चिनियाँ पर्यटकको आगमनले नेपालको पर्यटन थप चलायमान हुने बताउनुभयो ।

हिमालय एअरलाइन्स्को एच नाइन ७८५ एयरबस ए ३२०-२१४ ले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडानबाट एक सय ८० जना चिनियाँ पर्यटकहरू अवतरण गरेको र आगामी चार्टर्ड उडानमार्फत् थप सात सय यात्रुहरूलाई नेपाल ल्याउने योजना रहेको हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार कोरोना महामारीपूर्व सन् १०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना, २०२० मा १९ हजार दुई सय ५७, सन् २०२१ मा ६ हजार एक सय ९६, सन् २०२२ मा ५ हजार पाँच सय ९५ र २०२३ को मार्चसम्म छ हजार तीनसय ३७ जना चिनीयाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । रासस

Facebook Comments