Sun. May 19th, 2024

प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार बिस्तार हुन सकेनः मन्त्री शर्मा

काठमाण्डू, २०७९ फागुन २४ गते बुधबार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार बिस्तार हुन नसकेको बताउनु भएको छ ।

आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले वर्तमान समयको अनिवार्य आवश्यकताको रुपमा विकास भएको प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा, सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी रहेको बताउनु भयो । पछिल्लो समयमा सूचना प्रविधिको विकासले विश्वको स्वरुप नै परिर्वतन भएको उल्लेख गर्दै मन्त्री शर्माले महिलाहरुमा अझैपनि हरेक क्षेत्रमा सहजता हुन नसकेको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले स्थानीय तहका न्यायिक समितिको क्षमता अभिवृद्धि, मानव अधिकारमैत्री कानून निर्माण, बालविवाह र बाल श्रम अन्त्यको लागि सचेतना मुलक कार्यक्रम गर्दै आइरहेको बताउनु भयो । उहाँले मानव अधिकार सम्बन्धि विभिन्न संवैधानिक आयोगहरुसँग समेत महिला अधिकारका बारेमा नीतिगत र कार्यगत तहका समन्वय र सहकार्य हुँदै आएको बताउनु भयो ।

अध्यक्ष मगरले महिला अधिकार संरक्षण र लैंगिक हिंसा अन्त्यका लागि सबैले आ-आफ्नो स्थानबाट योगदान गर्न आग्रह गर्नुभयो । उहाँले सूचना प्रविधिमा महिलाको पुँहच अभिवृद्धि गर्न लगानी बढाउँदै महिलाको सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण निर्माण गर्दै महिलाका सम्पूर्ण अधिकार संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments