Tue. Dec 24th, 2024

संविधान प्रयोगको गलत अभ्यासले संसद र सरकारले प्रभावकारी काम गर्न नसकेको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको अभिव्यक्ति

काठमाण्डू, २०७९ फागुन २४ गते बुधबार । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद र सरकारले प्रभावकारी काम गर्न नसकेको बताउनु भएको छ ।

आज पारिवारिक निजी वन संघ नेपालको ९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सोे कुरा बताउनु भएको हो । दलहरु आफू ठिक ढंगले नचल्ने तर दोष संविधान, कानून र व्यवस्थालाई थोपरेर उम्कन नमिल्ने उहाँको तर्क छ । सरकार अफ्ठयारोमा पर्दा संसद विघटन गर्नेकुरा संसारभरको अभ्यास भएकाले नौलो मान्नु नपर्ने उहाँले बताउनु भयो । सरकार सञ्चालन गर्नेहरुले ढंग पु¥याएर संसद चलाउन नसक्ने तर कागजलाई दोष दिएर उम्किन खाजेको उहाँले आरोप लगाउनु भयो । केही राजनीतिक दलहरुले संसद विघटन नगर्ने कुरालाई सबैभन्दा ठूलो क्रान्तिकारी र परिवर्तनगामीका रुपमा लिइरहेको बताउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले नेपालमा समस्या परेको बेलामा सहजीकरण गर्ने नभइ झनै अल्झाएर राख्ने परिपाटी हाबी हुँदै गएको बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्दासमेत सुशासन दिन नसकेको बताउनु भयो । उहाँले देशको परिवर्तन भाषणामा मात्रै सिमित भएको उल्लेख गर्दै देशको सामान्य नागरिकले अझै सुशासनको अनुभुति गर्न नसकेको दाबी गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले वन पैदावरको संरक्षण गर्नेकुरामा सबै राजनीतिक दल, स्थानीयहरुको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले नेपालमा बोल्ने नेताहरु धेरै भएको तर त्यसलाई व्यवहारमा उतार्न सक्ने कमै रहेको बताउनु भयो ।

Facebook Comments