Tue. Dec 24th, 2024

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ

भिओके समाचार/काठमाण्डू, २०७९ फागुन २४ गते बुधबार । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताउनु भएको छ ।

राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुनु भएको उल्लेख गर्दै अध्यक्ष ओलीले उहाँको यस खालको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरुको लागि गर्वको विषय भएको बताउनु भयो । क्षुद्र राजनीतिक स्वार्थ प्रेरितहरुले मात्रै राष्ट्रपतिजस्तो सम्मानित ओहोदामा रहनुभएकी भण्डारीको मर्यादा नगरेको उहाँको भनाई थियो । ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भोजपुरको एउटा गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुुनु सामान्य विषय नभएको बताउनु भयो ।

उहाँले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुसरणीय रहँदै आएको भन्दै ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको बताउनुभयो ।

अध्यक्ष ओलीले महिलाहरु अब प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताउनु भयो । नेपालमा महिला आन्दोलनले धेरै ठूलो उपलब्धि हासिल गरेको उहाँको भनाइ छ ।

Facebook Comments