Fri. May 17th, 2024

राष्ट्रपति निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

इलाम-२ को उपचिर्वाचनमा ४० प्रतिशत मत खसेको छ ।

भिओके समाचार/काठमाण्डू, २०७९ फागुन २४ गते बुधबार । राष्ट्रपति निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको लागि भोली निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, २०७९ निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक हुने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले प्रदेश सभातर्फ ५ सय ५० जना र संघीय संसदतर्फ ३ सय ३२ जनाको मतदाता नामावली रहेको जानकारी दिँदै मतदानका लागि संघीय संसद भवनको ल्होत्से हलमा दुईवटा मतदान केन्द्र स्थापना गरिएको बताउनु भयो । ल्होत्से हल भित्रका दुईवटा मतदान केन्द्रमा संघीय सांसद र प्रदेश सांसदहरुले छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनु भयो । संघ र प्रदेशका सांसदहरुको छुट्टाछुट्टै लाइन हुने पनि पौडेलले जानकारी दिनुभयो । उहाँले मतदान बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म हुने भन्दै ३ बजेपछि आउने मतदातालाई मतदानका लागि प्रवेश निषेध गरिने स्पष्ट पार्नुभयो ।

निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, २०७९ निर्वाचन अधिकृत पौडेलले मतदानका लागि लाइन बस्नुअघि संघीय सांसद र प्रदेश सांसदहरुलाई छुट्टाछुट्टै ‘प्रतिक्षा कक्ष’ बनाइएको पनि जानकारी गराउनु भयो । सञ्चारमाध्यमका लागि पनि ‘प्रतिक्षा कक्ष’को व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो । पौडेलले भोलि अपरान्ह ४ बजेदेखि मतगणनाको कार्य शुरु गरेर साँझ ७ बजेसम्म गणना सकिसक्ने लक्ष्य रहेको समेत जानकारी दिनुभयो ।

Facebook Comments