Sun. May 19th, 2024

राष्ट्रपति निर्वाचन: कित्ता क्लियर गर्न नपाउने

काठमाण्डू, २०७९ फागुन २३ गते मंगलबार । राष्ट्रपति निर्वाचन आचारसंहिता सोमबार रातिदेखि लागू भएपछि पाँच दलले उम्मेदवारबारे कित्ता क्लियर गर्न नपाउने भएका छन् ।

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ कसलाई भोट हाल्ने भनेर उनीहरुले औपचारिक निर्णय गर्न नपाउने भएका हुन् । राष्ट्रपतिका उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई १० दलको समर्थन छ । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेसपा र आम जनता पार्टी गरी १० वटा दल संस्थागत रूपमा पौडेलको पक्षमा उभिएको अवस्था छ ।

एमालेले पौडेलविरुद्ध पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मैदानमा पठाएको छ । नेम्वाङलाई मौनअवधिसम्म एमाले बाहेकका दलको समर्थन छैन । राष्ट्रपतिका दुई उम्मेदवार पौडेल र नेम्वाङमध्ये कसलाई मत दिने भनेर राप्रपा, रास्वपा, नेमकिपा, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले कित्ता क्लियर नगरेको अवस्था छ ।राप्रपाले यसबारे निर्णय लिन बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । रास्वपा संसदीय दलका नेता डोलप्रसाद अर्यालले पनि २५ गते विहान बैठक बसेर निर्णय लिने बताएका छन् । तर राष्ट्रपति निर्वाचनको आचारसंहिताका कारण अब उनीहरुले कित्ता क्लियर गर्ने नपाउने प्रमुख निर्वाचन आयोग आयुक्त दिनेश थपलियाले बताउनुभयो ।

Facebook Comments