Sat. May 4th, 2024

सभापति देउवासँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

काठमाण्डू, २०७९ फागुन १ गते सोमबार । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विनयमोहन क्वात्राले भेट गर्नुभएको छ । देउवा निवास धुम्रबाराहीमा भएको भेटवार्तामा द्विपक्षीय पारस्परिक हितका विभिन्न विषय र दुई देशका जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

सो अवसरमा सभापति देउवाले हाम्रो साझा लक्ष्य दुई देशका जनताको हितमा नेपाल-भारत सम्बन्धलाई अझ प्रगाढ बनाउनु भएको बताउनुभएको थियो ।

राससका अनुसार विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको हो । यसअघि उहाँले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । आजै उहाँले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्नाका साथै सचिवस्तरीय बैठकमा सहभागी हुनुभएको थियो ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उहाँको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

Facebook Comments