Sat. May 4th, 2024

अध्यक्ष ओलीसँग भारतीय विदेशसचिव क्वात्राको भेटवार्ता

काठमाण्डू, २०७९ फागुन १ गते सोमबार । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेशसचिव विनयमोहन क्वात्राले भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष ओलीको निवास बालकोटमा आज भएको भेटवार्तामा द्विपक्षीय पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको एमालेका नेता डा. राजन भट्टराईले जानकारी दिनुभयो । भेटमा अध्यक्ष ओलीले दुवै देशबीच घनिष्ठ, नमूना र जनस्तरको सम्बन्ध रहिआएको उल्लेख गर्दै दुवै छिमेकी मुलुक एकअर्काको सहयोगी बनेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

साथै उहाँले कुनै समस्या भए वार्ता र सहमतिका आधारमा समाधान गरेर अघि बढ्नुपर्ने बताउनुभएको थियो ।

विदेशसचिव क्वात्राले दुवै देशबीचको सम्बन्ध राम्रो अवस्थामा रहेको आफूले पाएको उल्लेख गर्दै द्विपक्षीय सहमति कार्यान्वयनको तहमा रहेको र कार्यान्वयन नभएका सहमतिलाई पनि अघि बढाउने सहमति भएको जानकारी गराउनुभएको थियो ।

विदेशसचिव क्वात्रा परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको हो । यसअघि उहाँले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । आजै उहाँले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्नाका साथै सचिवस्तरीय बैठकमा सहभागी हुनुभएको थियो ।

विदेशसचिवको कार्यभार सम्हालेपछिको यो उहाँको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । रासस

Facebook Comments