Wed. Apr 24th, 2024

सुनसरीमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु   

इनरुवा, २०७९ माघ ३ गते मंगलबार । सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान-३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना धरान-१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्युभएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश१-०२-००३ह २६५५ नंको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बू गम्भीर घाइते भएकामा उपचारका क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उनको मृत्यु भएको थियो । सिटी र चालक धरान-११ का ज्ञानबहादुर थापा प्रहरीको नियन्त्रणमा रहेका छन् ।
त्यसैगरी बराहक्षेत्र-७ बत्तीस आरडीस्थित सुनसरी-मोरङ सिँचाइ आयोजना नहरमा डुबेर ४० वर्षीय वीरबहादुर थापा (हिमाल)को निधन भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बत्तीस पुलबाट नहरमा थापा बेपत्ता भएका थिए ।

नहरमा डुबेर बेपत्ता भएको थाहा पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीय खोजीकार्यमा लागिपरेका थिए । बेपत्ता भएको करिब दुई घण्टापछि एक किलोमिटर टाढा सेरेचोक नजिक शव भेटिएको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दीप प्रज्ज्वलन    

आइतबार पोखरामा विमान दुर्घटनामा परी निधन भएकाको सम्झानमा सोमबार साँझ सुनसरी सदरमुकाम इनरुवा दीप प्रज्ज्वलन गरिएको छ । सुनसरी सदमुकाम इनरुवा-१ स्थित लोकतान्त्रिक चोकमा समाज कल्याण युवा क्लबको अगुवाइमा दीप प्रज्ज्वलन गरिएको हो ।

यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा भगवान्ले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने उद्देश्यले दीप प्रज्ज्वलन गरेको हो । कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साह, चन्दन यादव, विवेक साहलगायतको सहभागिता थियो । रासस

Facebook Comments