Mon. May 6th, 2024

पोखरा विमान दुर्घटनाः शव काठमाण्डौं पठाइँदै   

पोखरास्थित सेती नदी खोंचमा आइतबार यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ज्यान गुमाएकाहरुको पहिचान हुन नसकेपछि शव पोष्टम्याटमका लागि काठमाडौं लैजाने तयारी गरिँदै । तस्बिर : धनबहादुर गुरुङ, रासस

काठमाण्डौं, २०७९ माघ ३ गते मंगलबार । आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाण्डौं पठाउने तयारी गरिएको छ ।

शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ । चिन्न नसकिने अवस्थाका, काठमाण्डौं सहित आसपासका , विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज पठाउने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।

“हालसम्म पहिचान भएका २०-२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी परीक्षण भइरहेको छ”, उहाँले भन्नुभयो, “अन्य शव लैजानका लागि हेलिकोप्टर सोमबार नै पोखरा आइसकेको छ ।” शव पहिचान गर्ने काम पनि भइरहेको र मौसम पनि चिसो रहेका कारण आजै बिहान १०-११ बजेतिर काठमाण्डौं पठाइने प्रजिअ केसीले जानकारी दिनुभयो । रासस

Facebook Comments