Thu. May 2nd, 2024

नुवाकोटका सबै क्रसर अवैध घोषणापछि लगाइयो ताल्चा

त्रिशूली, २०७९ पुस २९ गते शुक्रबार । नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएसँगै ताल्चा लगाइएको छ । गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र बालुवा प्रशोधन उद्योगमा ताला लगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका क्रसर उद्योग कानुनी मापदण्डअनुरुप सञ्चालनको अवस्था बुझ्न सहायक प्रजिअको नेतृत्वमा गठन गरिएको अनुगमन समितिको अनुगमनमा हालसम्म २२ मा ताला लगाएको छ । “अनुगमनमा अवैध पाइएकाले प्रक्रिया पूरा नभएसम्म ताला (सिल गरिएको) लगाइएको छ”, प्रजिअ रिसालले भन्नुभयो, “उद्योग सञ्चालनका लागी तोकिएका मापदण्डको प्रशस्त उल्लङ्घन भएको पाइएपछि सिधै सिल गरिएको हो । कानुनी आधार पूरा गरेर सम्पर्कमा आउन पत्र दिइएको छ ।”

अनुगमनका क्रममा यसअघि निर्बाध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगको समेत मापदण्ड पूरा नभएको पाइएको छ भने केही उद्योग दर्ता नै नभई सञ्चालन गरिएकाले बन्द गरिएको उल्लेख छ । अनुगमनका क्रममा ताला लगाइएको २२ उद्योगमध्ये चारवटा उद्योग दर्ता नै नगरी सञ्चालनमा रहेको पाइएको छ भने एकवटा उद्योगको नाम र सञ्चालक समेत पत्ता लगाउन नसकेको प्रजिअ रिसालले जानकारी दिनुभयो ।

“दर्ता भएका उद्योगको कानुनी सञ्चालनको मापदण्ड अनुगमनमा जाँदा दर्ता नै नभएका उद्योगहरु समेत सञ्चालनमा देखियो”, उहाँले भन्नुभयो, “दर्ता गरिएको छैन, निर्माण सामग्री अवैध रुपमा भित्र्याइएको छ । राजस्व छली गरेर राज्यलाई लाखौँ नोक्सान बनाउने दर्ता नभएका उद्योगको उपकरण जफतको तयारी गरेका छौँ ।”

नुवाकोटमा विदुर र बेलकोटगढी नगरपालिकासहित जिल्लाको लिखु, तारकेश्वर, तादी, ककनी लगायतका गाउँपालिकाको नदी र खोला तथा खानीलाई लक्षित गरेर क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा थियो । रासस

Facebook Comments