Fri. May 17th, 2024

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी प्रदेशसभाको शुक्रबारको बैठकमा विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै । तस्बिर : कृष्ण दवाडी, रासस

गण्डकी, २०७९ पुस २९ गते शुक्रबार । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।

साठी सदस्यीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो । मुख्यमन्त्री अधिकारीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा नेकपा (एमाले) का २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना सांसदले मतदान गर्नुभएको थियो भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ जना सदस्यले विपक्षमा मतदान गर्नुभएको थियो ।

एमालेबाटै निर्वाचित भएर सदनको अध्यक्षता गर्नुभएका मित्रलाल बस्यालले भने मतदान गर्नुभएन । त्यसैगरी स्वतन्त्र सांसद राजीव गुरुङ बैठकमा अनुपस्थित हुनुभयो ।

एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरे पछि मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

Facebook Comments