Fri. Apr 19th, 2024

मन्त्री ज्ञवाली भन्नुहुन्छः ‘भारतसँग छिट्टै वार्ता हुन्छ’

काठमाडौं, २०७६ फागुण १ गते बिहीबार

नेपाल-भारत सीमा समस्या समाधानको पहल यति बेला पर्ख र हेरको स्थितिमा पुगेको छ । लिम्पियाधुरासम्मको कालापानी, लिपुलेकसहितको भूभाग नेपालको हो भन्ने दाबीसहितको पत्र नेपाल सरकारले भारतलाई पठाइसकेको छ । भारतले पनि समस्या उठेका स्थानमा वार्ता र संवादको माध्यमबाट समाधान गर्न स्वीकार गर्दै एक पटक जवाफ दिएको छ ।

वार्तामा बस्न तयार भारतकै कारण नयाँ वार्ताको मिति भने तय हुन सकेको छैन । भारतले कहिले अर्को जवाफ पठाउला र वार्ताको मिति तय होला भनेर नेपाल पर्ख र हेरको अवस्थामा छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने वार्ताका माध्यमबाट सीमा समस्या समाधान हुने विश्वास गर्नुपर्छ । “नेपाल भारतबीच निश्चय नै यसबीचमा सीमा समस्या बल्झिएको छ”, बुधबार गोरखापत्रसँगको विशेष कुराकानीका क्रममा उहाँले भन्नुभयो, “तर यो आज उत्पन्न समस्या हैन ।

हिजोको इतिहासले हामीलाई बोकाइदिएको एउटा विरासत हो । ” उहाँका अनुसार हिजोका शासकहरू, हिजोको राज्य प्रणाली सतर्क नहुँदा, पहल नगर्दा, लापरबाही गर्दा या यथेष्ट राष्ट्रिय सहमति जुटाउन नसक्दा उत्पन्न समस्या हुन् । “मेरो विश्वास छ, कूटनीतिक माध्यमबाट इतिहासका यी मुद्दाहरूलाई सल्ट्याउँदै अगाडि बढ्न सकिन्छ । अगाडि बढ्नुको विकल्प छैन”, उहाँले थप्नुभयो ।

उहाँले नेपाल र भारतबीच असल सम्बन्धबाहेक अर्को कुनै विकल्प नरहेकाले भारतले सीमा समस्याको यथार्थ स्वीकार गर्दै वार्ताबाटै समाधान गर्न तत्पर रहेको जवाफ दिएको जानकारी दिनुभयो । उहाँका अनुसार दुवै सरकारको सचिवस्तरीय वार्ताको मिति भने तय हुन बाँकी छ ।

यसबीचमा भारतको विदेश मन्त्रालयको प्रशासनिक स्थितिमा फेरबदलको स्थिति र नेपालका राजदूतको बिदाइ र नयाँ राजदूतको आउने क्रम जस्ता कुराले पनि केही प्रभाव पारेको अनुमान उहाँ गर्नुहुन्छ । “मलाई विश्वास छ, छिट्टै वार्ता हुन्छ । नेपाल के कुरामा विश्वस्त छ भने प्राप्त ऐतिहासिक तथ्य, प्रमाण, कागजात, नक्साका आधारमा यो समस्याको समाधान गर्न सकिन्छ”, मन्त्री ज्ञवालीको थप भनाइ छ ।

सीमाको विषयमा विवाद गर्नु नेपालको कुनै अतिरञ्जित चाहना नरहेको उहाँले प्रस्ट्याउनुभयो । यसमा नेपालको कुनै स्वार्थ नरहेको भन्दै उहाँले नेपालले सुगौली सन्धियताको नेपालको पश्चिमी सीमालाई सुरक्षित गर्न खोजेको प्रस्ट पार्नुभयो । गएको नोभेम्बर २ मा भारतले लिम्पियाधुरासहितको आफ्नो नक्सा सार्वजनिक गरेपछि सीमा विवाद फेरि सतहमा आएको हो । गोरखापत्र अनलाईनबाट

Facebook Comments