Fri. Apr 19th, 2024

कोरोना भाईरस विरुद्धको चिनिया युद्धमा नेपालको उद्धघोष: हामी साथ छौँ

काठमाडौं, २०७६ माघ २९ गते बुधबार

चीनको उहान शहरबाट फैलिएको नोवल कोरोना भाईरस विरुद्धको चिनिया जनयुद्धलाई समर्थन गर्न काठमाडौंमा बुधबार “हामी साथ छौँ” कार्यक्रमको भव्य आयोजना गरियो ।

ट्रान्स हिमालय डेभलप्मेन्ट सेन्टर र फ्रेण्डस् अफ सिल्क रोडले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, नेपालस्थित चिनिया राजदूतावासका पदाधिकारीहरु, सांसद, नेपाल-चीन मैत्री संस्थाका प्रतिनिधीहरु, समाजसेवी, डक्टर, इन्जिनियर, शिक्षक, विद्यार्थी, कलाकार लगायत सैयौंको सहभागीता थियो ।

राष्ट्रिय सभा गृहमा सम्पन्न सो भव्य अनि सभ्य कार्यक्रममा पाठशाला नेपालका विद्यार्थीहरुले नेपाली र चिनिया भाषामा नेपाल-चीन मैत्री गीत गाएर कोरोना भाइरस विरुद्धको लडाईमा चीनको साथमा नेपाली पनि छौं है भन्ने मार्मिक सन्देश दिए ।

कार्यक्रमका प्रमुख अतिथी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले  नोवल कोरोना भाईरस विरुद्धको युद्धमा नेपाल चीनको साथ रहेको बताउनु भयो । नेपाल र चीन ऐतिहासिक कालदेखि नै असल मित्र भएको प्रसंग उल्लेख गर्नुहुँदै मन्त्री अर्यालले कोरोना भाईरस विरुद्धको लडाईमा चीनले छिटै विजय हासील गर्ने विश्वास व्यक्त गर्नुभयो । अर्यालले भन्नुभयो नेपाल र चीनको सम्वन्ध कहिल्यै नछुट्ने खालको र कसैले टुटाउन नसक्ने खालको छ । साथै मन्त्री अर्यालले कोरोना भाईरस विरुद्धको चिनिया अभियानमा नेपाल सँधै चीनको साथमा रहेको बताउनु भयो ।

कार्यक्रमका विशेष अतिथी नेपालका लागि चिनिया राजदूत हो यान्छीले कोरोना भाईरसको संक्रमणबाट चीनले भोगिरहेको विपत्तिको समयमा नेपाल र नेपाली जनताले देखाएको सद्भावको सराहना गर्नुभयो ।

कार्यक्रममा उपस्थित महानुभावहरु तर्फ नजर लगाउदै भावुक स्वरमा राजदूत हौ यान्छीेले भन्नुभयो “यहाँहरुको उपस्थितीले चीनको महामारी रोकथामको लडाईमा नेपाल सरकार तथा नेपाली जनताको दृढ समर्थन रहेको कुरा दर्शाएको छ ।” उहाँले भन्नुभयो “दुःखमा मात्र असल साथी चिनिन्छ । नेपाल चीनको असल अनि घनिष्ट छिमेकी मात्र नभएर हामी एकै परिवारका दाजुबहिनी जस्तै हौं ।”

चीनले कोरोना भाईरसको नियन्त्रणको लागि हालसम्म चालिरहेका कदमहरुको बारेमा चर्चा गर्दै चिनिया राजदूतले भन्नुभयो “महामारीको फैलावट रोकथाममा अझै जोड दिन चीनको ३१ वटै प्रान्तमा उच्च तहको सार्वजनिक स्वास्थ्य आपत्कालिन अवस्थाका लागि पहिलो तहको सतर्कता अपनाई सकिएको छ साथै देशका समुदाय, गाउँहरुभरी सञ्चालन फैलाएर वलियो सुरक्षा बनाईसकेको छ ।”

राजदूत हौ यान्छीले धेरै मेहनत पश्चात अहिले दैनिक संक्रमितको संख्या घट्दै गएको र हालसम्म ४ हजार भन्दा बढि उपचार सकेर अस्पतालबाट बाहिरीएका छन् । उहाँले सबै पक्षको मेहनतले यो महामारी सफलतासाथ छिटैै नियन्त्रणमा आउने र मानिसहरुको जनजीवन सामान्य बन्ने पनि विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम आयोजक संस्था ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरका अध्यक्ष डा. कल्याणराज शर्माले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै भन्नुभयो, ‘उत्तरी छिमेकी चीनसँग नेपालको सदियौं पुरानो आत्मीय सम्बन्ध छ । चीनको यो पीडामा हामी नेपालीहरु साथ र सहयोग गर्न तत्पर छौं भनेर सन्देश दिन खोजेका हौं ।’

कार्यक्रममा बलराम दाहालले कबितामार्फत् फास्यान, स्वानचाङ, अरनिको, अंशुबर्मा, मञ्जुश्रीलगायतले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाएको चर्चा मात्र गर्नुभएन, दुःखमा परेकाको आँसु पुछ्नु नै नेपालीको मुख्य धर्म भएको पनि बताउनु भयो:
कोरोनाको महामारी, फैलिँदा चीनमा त्यहाँ
गर्दछौँ प्रार्थना हामी, हृदयले सबै यहाँ ।
दिनलाई ठुलो केही, नसके पनि साथ छ
हामी  छौं साथमा तिम्रै, हातमा आज हात छ ।।

कार्यक्रममा बोल्दै नेकपाका नेता तथा पूर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोख्रेलले चीनमा आएको कोरोना भाईरसको विपत्ति चिनिया जनताको मात्र नभएर सिंगो मानव समुदायको विपत्ति भएको बताउनु भयो । कोरोनाभाईरस विरुद्ध अहोरात्र वहादूरीसाथ लडिरहेका चिनिया जनताको उच्च मूल्यांकन गर्दै पोख्रेलले भन्नुभयो “चीनमा लडिरहीएको कोरोना विरुद्धको लडाई विश्वको मानव जातीको रक्षाको लागि हो । यो लडाई चिनिया जनताको एक्लो लडाई होइन यसमा नेपाली जनताको पूर्ण साथ र समर्थन छ ।” उहाँले भन्नुभयो चीन यो लडाईमा छिटै विजयी हुनेछ र कोरोना भाईरसलाई निर्मूल गरिछाड्नेछ ।

सो कार्यक्रममा नेपाली कांग्रेका नेता तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, चिकित्सा शिक्षा आयोगका निर्देशक डा.दिलिप शर्मा, सांसद यज्ञराज सुनुवार, लोकप्रीय गायीका आनी छोइङ डोल्मा, हाँस्य कलाकार मनोज गजुरेल लगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको समापनमा राष्ट्रिय सभागृहको मुख्य प्रवेशद्वारमा नेपाली तथा चिनिया भाषामा हामी साथ छौं लेखिएको एक आकृतिमा मैनबैत्ति बालेर कोरोना भाईरसबाट गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

Facebook Comments