Fri. Apr 19th, 2024

सप्तकोसीमा सञ्चालित जेट बोट सेवा बन्द

काठमाडौं, २०७६ फागुण १ गते बिहीबार

सप्तकोसी नदीमा सञ्चालित जलयातायात (जेट बोट) सेवा बन्द भएको छ ।

सरकारले कानून निर्माण गरी नियमन गर्नु पर्ने, सुरक्षा प्रदान गर्नु पर्ने, भाडादर कायम गर्नु पर्ने लगायतका माग राख्दै व्यावसायीहरुले अनिश्चितकालका लागि बिहीबारबाट जलयातायात सेवा बन्द गराएका हुन् । सप्तकोसी नदीमा दुई वर्षदेखि नियमित जलयात्राको सेवा सञ्चालनमा रहेको थियो ।

जेट बोट सञ्चालनका लागि प्रष्ट कानून अभावका कारण आफूहरु समस्यामा परेको सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसनका सञ्चालक राजेन्द्र कार्कीले बताउनु भयो ।

स्थानीय तहदेखि प्रहरी प्रशासनले समेत दुःख दिने गरेकाले सरकारलाई छिटो कानून निर्माण गरी नियमन गर्न दबाव दिने उदेश्यले सेवा अनिश्चितका लागि लागि बन्द गरेको कार्कीले बताउनु भयो ।

‘रिक्स मोलेर ठूलो लगानीमा जेट बोट सञ्चालन गरेका छौं,’ सञ्चालक कार्कीले भन्नुभयो, ‘विभिन्न कारणले हाम्रो लगानी जोखिममा पर्दै गएको छ । सरकारले न त जलयात्राका लागि स्पष्ट कानून बनाएको छ, न त व्यवसायीको लगानी सुरक्षामा ध्यान दिएको छ, यस्तो अवस्थामा हामी सेवा दिन सक्दैनौं ।’ हाम्रो व्यवसायको सुरक्षा गरिदिने ग्यारेण्टी सरकारले नगरेसम्म सेवा सुचारु गर्न नसकिने उहाँले बताउनु भयो ।

व्यावसयीले सप्तकोसी नदीमा जलयात्राको सेवा बन्द गरेपछि पहाडी क्षेत्र भोजपुरका हसनपुर, हतुवा, दुम्माना, देवान्टार, हर्दिला, सिन्द्राङ, खैराङ आदि दक्षिणी भाग त्यसैगरी, धनकुटा र उदयपुर क्षेत्रका मानिसलाई तराईसम्म आउजाउ गर्न समस्या भएको छ । कोसीमा जलयात्रा सञ्चालन हुँदा सो भेगका मानिसलाई यात्राको दुरी समेत छोटिँदा आवतजावतमा सहजता भएको थियो ।

भोजपुर घोरेटारका दीपक राईले जलयात्राबाट आवतजावत गर्दा एकै दिन विराटनगर, इटहरी र धरानबाट घर पुग्न सहज हुने गरेको भएपनि अब जल यात्राको सेवा बन्द भएपछि दुई दिन लाग्ने भएको छ बताउनु भयो ।

सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन र सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्ट प्रालिले सप्तकोसी नदीमा चारवटा जेटबोट सञ्चालन गदै आएका थिए ।

उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहा नगरपालिकाको बीचमा रहेको सप्तकोसी पुलबाट भोजपुरको हलेदे र धनकुटाको सिम्लेसम्मको जेट बोट सञ्चालन रहेको थियो । सुनसरीको बराह क्षेत्र १ मा रहेको चतराघाटबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेट बोट सञ्चालनमा ल्याएपछि सर्वसाधरणलाई राहात भएको थियो ।

चतराघाटबाट १५ किलोमिटर हाराहारीको धनकुटाको सिम्ले पुग्न अहिले १५ मिनेटमै पुग्न सकिन्थ्यो भने सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुग्न सकिन्थ्यो ।

सडक यात्रा गर्दा भने घोडेटारबाट साढे दुई घण्टामा पुगिन्छ । तर जेट बोटबाट यात्रा गर्दा सडक मार्ग भएर आउजाउ गर्दा भन्दा छिटो पुग्न सकिन्छ । जेट बोट सञ्चालनमा आएपछि भोजपुर मात्रै हैन धनकुटाको सिम्ले क्षेत्रका स्थानीयहरू पनि दुई घण्टामै धरान तथा साढे दुई घण्टामा इटहरी आउन सक्ने भएका थिए ।

दैनिक ५ सय जना भन्दा बढीले जेट बोटको यात्रामार्फत आफनो गन्त्वयमा पुग्ने गरेका थिए । जेट बोटमार्फत नै बराहक्षेत्र दर्शनका लागि मानिसहरु आउजाउ गर्ने गरेका कारण बाह्य र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको थियो । अनलाईन खवरबाट

Facebook Comments