Sat. Apr 20th, 2024

कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने डाक्टरको मृत्यु

काठमाडौं, २०७६ माघ २४ गते शुक्रबार

चीनबाट फैलिएको कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने एक डाक्टरको कोरोना भाइरस संक्रमणबाटै मृत्यु भएको छ ।

वुहान सेन्ट्रल अस्पतालका आँखा विशेषज्ञ डाक्टर ली वेनलियाङ्गको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ ।

उनको स्वास्थ्यबारे विरोधाभासपूर्ण खबरहरु आइरहेका थिए । पछि वुहान सेन्ट्रल हस्पिटलले सामाजिक सन्जालमार्फत् उनको स्थिति गम्भीर रहेको भन्दै उनलाई जोगाउन हरसम्भव कोसिस गरिरहेको जानकारी दिएको थियो । पछि सरकारी आदेशअनुसार उनका स्वास्थ्य रिपोर्टहरु सार्वजनिक गरिएको थियो ।

चीनको सरकारी मिडियाका अनुसार डाक्टर लीले ३० डिसेम्बरकै दिन आफ्ना साथी डाक्टरहरुलाई सार्स जस्तै भाइरसका संक्रमित विरामीहरु आफूले देखेको बताएका थिए । तर, स्थानीय प्रहरीले उनलाई भ्रम नफैलाउन चेतावनी दिएको थियो ।

अन्ततः डाक्टर लीले भनेकै कुरा पुष्टि भयो । निमोनियाको लक्षण जस्तै देखिने र सार्ससँग मिल्दोजुल्दो कोरोना भाइरसको कारण चीनमा पाँच सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको बताइन्छ । सरकारी तथ्यांकअनुसार २८ हजारभन्दा बढी मानिस यस भाइरसबाट संक्रमित छन् ।

३४ वर्षीय लीलाई चिनियाँ सामाजिक सन्जाल प्रयोगकर्ताहरुले ‘हिरो’को संज्ञा दिइरहेका छन्, जसले सही समयमै मानिसहरुलाई सतर्क गराउने काम गरेका थिए ।अनलाईन खवरबाट

Facebook Comments