Thu. Nov 21st, 2024

कोरोना विरुद्धको नेपालको तयारी अझै कछुवाकै गतिमा, चीनबाट फर्किनेहरुको सामान्य स्वास्थ्य परीक्षण गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको भनाई

काठमाडौं, २०७६ माघ २४ गते शुक्रबार

कोरोनाविरुद्धको अभियानमा नेपालको तयारी अझै पनि कछुवाकै गतिमा रहेको पाईएको छ । विश्व स्वास्थ्य संगठनले कारोना उत्पन्न भूमि चीनलाई संकटग्रष्त घोषणा गरेपनि चीनसँग सीमा जोडिएको नेपालमा भने कोरोना विरुद्धको तयारी वालुवाटारको वैठक र सामान्य स्वास्थ्य परीक्षणमै सिमीत भएको पाईएको छ ।

चीनबाट फर्किनेहरुलाई उपत्यकाका विभिन्न चारवटा स्थानमा राखि क्वारेन्टाइन तथा उपचार गरिने भनिए पनि ती स्थानमा आवश्यक पूर्वाधारको तयारी कहिले पुरा हुने हो र परीक्षण तथा उपचार कुन दिनबाट सुरु गरिने हो टुंगो छैन ।

भ्वाईस अफ काठमाडौंसँग शुक्रबार विहान कुराकानी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले चीनबाट फर्किरहेका नेपालीहरुलाई विमानस्थलमा सामान्य स्वास्थ्य परीक्षण गरिने जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चीनको जुनसुकै शहरबाट आएकाहरुलाई पनि सामान्य स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । उनीहरुमा ज्वरो, रुघाखोकी वा अन्य किसिमका गम्भिर लक्ष्यण देखिए अस्पतालमा राखिने वहाँले जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठ भन्नु हुन्छ, “चीनको उहान शहरबाहेक अन्य स्थानबाट आएकाहरुसँग भने खासै डराउनु पर्ने अवस्था छैन । तर पनि उनीहरुसँग अलिक सतर्क भएर केही दिन परै बस्नुहोला ।”

कोरोना भाइरसको बारेमा सबैभन्दा पहिले चेतावनी दिने चिनिया डाक्टरको मृत्युको खवरले पनि कोरोना कत्ति ययावह छ भन्ने प्रष्ट हुन्छ । तर हाम्रो देशमा यस महामारी प्रतिको हेलचेक्रयाई र सरकारले गर्नुपर्ने जति तयारी अझसम्म पनि नगर्नु चाँही दुर्भाग्यपूर्ण छ ।

यसैबीच चीनको उहान लगायतका विभिन्न शहरमा रहेका नेपाली विद्यार्थीहरुका अभिभावकहरुले उनीहरुलाई यथासक्य चाँडो नेपाल फर्काउन माग गर्दै स्वास्थ्य मन्त्रालय पुगेको खवर अनलाईन खवरले प्रकाशित गरेको छ ।
उहानमा छोराछोरी रोइरहेका छन्, नेपालमा बावुआमा ! शीर्षकमा सो अनलाईन लेख्छः

बिहीबार दिउँसोको १२ बजे । अरु दिन भन्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भीडभाड थियो ।

मन्त्रालयको प्रांगणमा नयाँ मानिसहरुको भीड बढ्दै थियो । उदास अनुहार देखिए पनि आवाजमा आक्रोश सुनिन्थ्यो । उनीहरु भन्दै थिए, ‘अब त अत्ति भयो, लाचार हुनुको पनि हद हुन्छ नि ।’

उनीहरु कोरोना भाइरसको चपेटामा परेको चीनको वुहानमा रहेका नेपाली विद्यार्थीका अभिभावक थिए । छोराछोरीहरु ‘खतरामा छौं, छिट्टै उद्दार गरिदिनुस्’ भन्दै तारम्तार आग्रह गरेपछि उनीहरु गुहार माग्न स्वास्थ्य मन्त्रालय पुगेका थिए ।

त्यहाँ पुग्ने प्रत्येक अभिभावकसँग सकसको कथा थियो । उनीहरु एक अर्कासँग पीडा पोखिरहेका थिए । बेला बेलामा आक्रोशित हुँदै भन्थे, ‘अरु देशले सबै विद्यार्थी लगिसक्यो, हाम्रो सरकारचाहिँ निदाएर बसेको छ कि क्या हो ?’

त्यही भीडबाट हसना ताम्राकारले आफ्नो पीडाको पोको फुकाइन्,  ‘यहाँ पढ्न पाएको भए मेरो छोरी चाइना जानै पर्दैनथ्यो, अहिले उता (चीनमा) सिंगो घरमा एक्लै थुनिएकी छे, कति गाह्रो भएको होला बिचरीलाई… ।’

यति भनेपछि उनको गला अवरुद्ध भयो । आफूलाई सम्हाल्दै बोलिन्, ‘हाम्रो छोरोछोरीलाई कहिले ल्याइदिने हो भनिदिनुपर्‍यो । उता उनीहरु त्रासमा छन्, यता हामी त्रासमा… ?

सलको सप्कोले आँशु पुछ्दै बोलिन्, ‘न उता उनीहरु निदाउन सकेका छन्, न हामी यता निदाउन सकेका छौं… ।’

उनकाअनुसार छोरी साना, एमडी पढ्न चीन गएको १ वर्ष भयो । अहिले एउटा घरमा एक्लै थुनिएकी छिन् । खानका लागि जुटाएको खाद्य सामाग्री सकिइसक्यो । उनी बारम्बार आमालाई फोन गरेर भन्छिन्, ‘चिन्ता नलिनुस् आमा… मलाई केही हुन्न ।’

छोरीको कुरा सुनाउँदै उनी भन्छिन्, ‘आमाको मन चिन्ता त लाग्ने रै’छ… त्यही ठाउँमा त्यत्रा मान्छे मरिरा’का छन् ।’

उनले पीडा सुनाइरहँदा स्वास्थ्य मन्त्रालयको प्रागंणमा अभिभावकको भीड जम्मा भइसकेको थियो । चीनको वुहानमा रहेका १८० जना विद्यार्थीका अभिभावकहरूको तर्फबाट ५० जनाभन्दा बढी मन्त्रालय पुगेका थिए ।

सरकारसँग उनीहरुको एउटै माग थियो,  ‘हाम्रो छोराछोरीलाई उद्दार गर्ने मिति भन्दिनु पर्‍यो…. ।’

मन्त्रालयका प्रांगणमा जति अभिभावक थिए, उनीहरु  भन्दै थिए,

— हाम्रो छोरोछोरी उता त्रासमा दिन बिताइरहेका छन् ।

— खाने कुरा सकिएको तीन दिन भइसक्यो, झ्याल खोल्न पनि डर लाग्छ रे ।

— आफ्नै शहरमा भएको मृत्युको समाचार सुन्दासुन्दा उनीहरु मानसिक रुपमा विक्षिप्त भइसके ।

— उनीहरु डराएर हामीलाई फोन गरिरेहेका छन् ।

— नेपाल सरकारको बाटो हेर्दाहेर्दै निराश भइसके ।

— महामारी फैलिएको शहरको घरको एउटा कोठामा थुनिएर मृत्युको समाचार सुन्दै बस्दा कति सकस भएको होला… ।

त्यही बेला एक अभिभावकले चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई भिडियो कल गरे । भिडियो कलबाट आक्रोशित आवाज आयो—

— हामीसँग बसेका अरु साथीहरुलाई आफ्नो देशले फिर्ता लगिसक्यो, हामी यहाँ बिचराको पात्र भएर बसेका छौं ।

— हामीलाई राख्न नदिन धेरै ठाउँबाट विरोध भयो रे.. हामीलाई रोकेर के हुन्छ ? चीनबाट नेपाल गइरहेकाहरु कहाँ के गर्दैछन्, कसैलाई थाहा छ ?

— हामीलाई त यहाँ संक्रमण भएकै छैन, उता गएर पनि क्वारेण्टाइनमा बस्ने हो, त्यतिकै हामीलाई राख्न नदिन जुलुश निकालियो रे.. यो समाचार सुन्दा आफूलाई नेपाली हुँ भन्न पनि लाज लागिसक्यो ।

— हामी अपराधी हो र ? हामीलाई नेपाल टेक्दैमा देशभर कोरोना फैलिने हो र ?

— हाम्रो बाआमालाई कति तनाव छ, हामी कति तनावमा बसिरहेका छौं । तपाईहरुको छोरोछोरी यता भएको भए बुझ्नुहुन्थ्यो पीडा ।

विद्यार्थी र अभिभावकको पीडा सुनाउने क्रम जारी थियो । तर त्यतिबेलासम्म स्वास्थ्य मन्त्रालयका कोही पनि पदाधिकारी ज्ञापनपत्र बुझ्न आएनन् । त्यसपछि उपस्थित अभिभावकले स्वास्थ्य राज्यमन्त्री नवराज रावतको कार्यकक्षमै जाने सल्लाह गरे ।

तर राज्यमन्त्रीको ढोका सजिलै कहाँ खुल्थ्यो र !

मन्त्री रावतको ढोकामा बसेका कर्मचारीहरु भन्थे, ‘प्रवक्तालाई भेट्नुस्, मन्त्री व्यस्त हुनुहुन्छ ।

अभिभावकहरु एकै स्वरमा जंगिन्थेँ, ‘ हामीले नै बनाएर पठाएको मन्त्री हो, राजा महाराजाको पालाको जस्तो हो र, भेट्न नपाउने ?

कर्मचारीहरु भन्थेँ, ‘कुरा बुझ्नुस् न उहाँहरु व्यस्त हुनुहुन्छ ।’

अभिभावकहरु एकै स्वरमा भन्थेँ, ‘ यस्तो परिस्थितिमा ध्यान नदिएर उहाँ के काममा व्यस्त हो ? उहाँलाई नभेटी जादैँ जान्नौँ ।’

कर्मचारीहरु भन्थेँ, ‘यहाँ आएर के हुन्छ र सरकारले गर्ने काम त गरिराछ नि ?’

फेरि अभिभावक जंगिन्थेँ, ‘तपाईहरुले हाम्रो छोरोछोरीलाई समयमै उद्दार गरेको भए हामी यहाँ किन आउथ्यौं र ? के हाम्रो छोराछोरी संक्रमित भएपछि वा मरेपछि सरकारको उद्दार सुरु हुने हो ?’

कर्मचारीहरु भन्थेँ, ‘स्वास्थ्य मन्त्रालय एक्लैले गर्ने हो र उद्दारको काम ?’

अभिभावकहरुले प्रतिप्रश्न गर्थेँ, ‘ त्यसो भए हामी कसलाई सोध्न जाऊँ ?’

करिब ४० मिनेटसम्म यस्तै चलिरह्यो । त्यसपछि राज्यमन्त्री रावतको ढोका खुल्यो ।

स्वास्थ्य राज्यमन्त्री रावत र मन्त्रालयका प्रवक्ता महेन्द्रबहादुर श्रेष्ठसँग अभिभावकले गुनासो राख्दै सोधे, ‘हाम्रा छोरोछोरीलाई कहिले ल्याउने हो बताइदिनुपर्‍यो ।’

स्वास्थ्यमन्त्री रावत एक शब्द बोलेनन् । प्रवक्ता श्रेष्ठले भने, ‘स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने तयारी गरिसकेको छ, अब नेपाल सरकारले निर्देशन दिएपछि कहिले र कसरी ल्याउने भन्ने विषयमा थाहा हुन्छ ।’

प्रवक्ताको कुराले अभिभावकहरु जंगिदै बोले, ‘यो चाहिँ सरकार होइन । अब हामी गुहार माग्न कहाँ जानुपर्ने हो ? छोराछोरीको उद्दार गर्दिनु भन्दा गोली हान्नुहुन्छ भने हान्नुस्, हामी गोली खान पनि तयार छौं । लाठ्ठी चार्ज गर्नुस्, हामी सहन तयार छौं । तर, हामी चुप बस्दैनौं, सिंहदरबार घेर्नुपरे पनि घेर्छौ ।’

मन्त्रालयका प्रवक्ताले आफूहरुले अहिले केही भन्न नसक्ने जानकारी दिए । ‘सरकार नै लाचार भएपछि नागरिकका दु:ख कहिल्यै सकिदैन’ भन्दै अभिभावक त्यहाँबाट निस्किए ।

मन्त्रालयको प्रागंणमा पुगेपछि एक अभिभावकले प्रस्ताव राखे, ‘भोलि सिंहदरबार घेराउ गर्नुपर्छ ।’

अन्य अभिभावकहरु स्वीकृतिमा टाउको हल्लाउँदै त्यहाँबाट निस्किए ।

हामीले सोध्यौँ, ‘ सिंहदरबार घेराउ गर्ने हो ?’

‘हामीले अघि नै भन्यौं नि हाम्रो छोराछोरीको ज्यानको गुहार माग्दा सरकारले गोली हान्छ भने हामी गोली खान पनि तयार छौँ’ अभिभावहरुबाट एकमुष्ट जवाफ आयो, ‘नेपाल सरकार भनेको सिंहदरबार त होला नि… अब हामी चुप बस्दैनौं ।’

Facebook Comments