Thu. Dec 26th, 2024

प्रभु साह एमालेबाट बर्खास्त

भिओके समाचार, काठमाण्डौं, २०७९ असोज ३० गते आईतबार । पार्टीले दिएको टिकट होल्ड गर्दै स्वतन्त्र उम्मेदवारी दिएका स्थायी कमिटी सदस्य प्रभु साहलाई पार्टीविरोधी गतिविधि गरेको भन्दै नेकपा (एमाले) ले कारबाही गरेको छ । साहलाई एमालेले पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको छ ।

महासचिव शंकर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह- इन्चार्ज प्रभु साह र जिल्ला इन्चार्ज उपेन्द्र साह र सह- इन्चार्ज कुन्दप्रसाद कुशवाह पार्टी विरोध गतिविधिमा संलग्न भएकाले निजहरूलाई पार्टीको सदस्यता समेतबाट निष्कासन गरिएको उल्ले गरिएको छ ।

एमालेको रौतहट जिल्ला कमिटी पनि विघटन भएको छ । रौतहट जिल्लाको सह-इन्चार्जको जिम्मेवारी उद्धव रेग्मीलाई तोकेको महासचिव पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । स्वतन्त्र उम्मेदवारी दिएसँगै साहले एमालेमा नरहेको घोषणा गरिसक्नु भएको छ ।

सत्तारूढ गठबन्धनले रौतहट-३ मा साहलाई समर्थन गर्ने भएको छ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले रौतहट-३ मा आफ्नो पार्टीका उम्मेदवार रहे पनि गठबन्धनले साहलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।  रौतहट-३ मा सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका रवीन्द्र पटेल उम्मेदवार बन्नु भएको थियो ।

यसअघिका तीन वटा निर्वाचन माओवादी केन्द्रबाट जित्नुभएका साहको आफ्नो क्षेत्रमा बलियो प्रभाव छ । सोही क्षेत्रमा पर्ने मौलापुर नगरपालिकामा उहाँकी पत्नी रिना साहले यसपालि दोस्रो पटक मेयर जित्नु भएको छ ।

माओवादीको सशस्त्र युद्धका बेलामा भूमिगत हुनुभएका साह २०६४ र २०७० को संविधान सभामा सोही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो । २०७४ को चुनावमा पनि उहाँले त्यहीँबाट विजय हासिल गर्नुभएको थियो र साह तीन पटक मन्त्री पनि हुनुभएको छ । २०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उहाँ ओली सरकारको मन्त्री पनि बन्नु भएको थियो । माओवादी केन्द्र र एमालेको एकतालाई २०७७ फागुन २३ गते सर्वोच्च अदालतले खारेज गरिदिएपछि साहले एमाले रोज्नु भएको हो । एमाले रोजेकै कारण माओवादी केन्द्रले उहाँको सांसद पद खारेज गरेको थियो । स्वतन्त्र उम्मेदवार बन्नुभएका साहले चापाकल (जमिनमुनिबाट पानी तान्ने कल) चुनाव चिन्ह पाउनु भएको छ ।

Facebook Comments