Fri. Dec 27th, 2024

मैले जिते दुई वर्षभित्रै जोरपाटी-साँखु सडकखण्ड निर्माण : ओनसरी

भिओके समाचार, काठमाण्डौं, २०७९ असोज ३० गते आईतबार । नेकपा एकीकृत माओवादी नेत्री तथा काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार ओनसरी घर्तीले आफू निर्वाचित भए दुई वर्षभित्रमै जोरपाटी-साँखु सडकखण्ड निर्माण सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतवार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै घर्तीले मतदाता समक्ष यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएकी नेत्री घर्तीले आफू निर्वाचित भएको दुई वर्षभित्र कार्य सम्पन्न गराउन नसके पदबाट राजीनामा दिने बताउनुभयो । उहाँले आफू निर्वाचित भएमा साँखु बजार र शालीनदीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने कुरामा ध्यान दिने पनि बताउनुभयो । उहाँले जर्सिङपौवालाई संग्रहालयको रुपमा विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । नेता घर्तीले दक्षिणढोका, मूलपानी लगायतका क्षेत्रमा हुने डुबानको समस्यालाई समाधान गर्न योजना बनाउने तथा व्यावसायिक तरकारी, फलफूल खेतीको विस्तार, रोजगारी वृद्धि गर्ने कामलाई उच्च प्राथमिकतामा राख्ने बताउनु भयो ।

त्यसैगरी उहाँले मूलपानीमा निर्माणाधीन क्रिकेट रंगशालाको काम छिट्टै सम्पन्न गराउने, युवालाई रोजगारी र खेलकुदमा जोड्ने कार्यक्रम बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले विमानस्थल निर्माणका क्रममा प्रभावितहरुको समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको पनि उल्लेख गर्नुभयो ।

Facebook Comments