Mon. Apr 29th, 2024

काठमाण्डौं उपत्यकामा इन्द्रजात्रा सुरु

भिओको समाचार/काठमाण्डौं, २०७९ भदौं २२ गते बुधबार । काठमाण्डौं उपत्यकाको प्रमुख जात्रा इन्द्रजात्रा आजबाट सुरू भएको छ । इन्द्रजात्राको लिंगो अर्थात य:सिं ठड्याएर यो जात्रा विधिवत् रुपमा सुरु भएको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाण्डौंको हनुमानढोका परिसरमा भगवान इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू भएको मानिन्छ। आज (बुधबार) बिहान ७:१५ बजेको साइतमा लिंगो ठड्याइएको थियो ।

भक्तपुरको चित्तपोलस्थित जंगलबाट ल्याइएको ३२ हात लम्बाइको लिंगो मानन्धर समुदायले उठाउने प्रचलन छ । परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइन्छ।

इन्द्रलाई वर्षा र सहकालका देवता मानिन्छ। नेवार समुदायमा मनाइने यो जात्राको उद्गमथलो हनुमानढोका दरबार क्षेत्र मानिन्छ ।

हिन्दू र बौद्ध धर्मावलम्बी नेवार समुदायको साझा चाडका रूपमा लिइने इन्द्रजात्रालाई नेपालकै प्रमुख जात्राका रूपमा लिइन्छ। यो जात्रा सुरु भएपछि दशैंको चहलपहल सुरु हुने वातावरण पनि बन्ने गर्दछ ।

Facebook Comments