Thu. May 16th, 2024

कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोप

फाईल फोटो

भिओको समाचार/काठमाण्डौं, २०७९ भदौं २२ गते बुधबार । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी परेको छ ।

काठमाडौंकी १७ बर्षीया एक बालिकाले सन्दीपविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जबर्जस्ती करणीको आरोपमा जाहेरी दर्ता गरेकी हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी टेकप्रसाद राईले सन्दीपविरुद्ध जबर्जस्ती करणीको उजुरी परेको पुष्टि गर्नु भयो ।

‘लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा पीडितका तर्फबाट उजुरी दर्ता भएको छ, उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र स्वास्थ्य परिक्षण पछि पीडित बालिकालाई प्रहरीको संरक्षणमा राखिएको छ,’ प्रवक्ता राईले भन्नु भयो ।

अनुसन्धान अघी बढेसंगै प्रहरीले यो घटनालाई २५ दिन भित्र अदालतमा पेश गर्ने छ ।

‘हामीले घटनाबारे सुक्ष्मरुपमा अनुसन्धान थालेका छौ, जाहेरी परेको २५ दिन भित्र घटनाको अनुसन्धान गरी यसलाई हामीले अदालतमा पेश गर्ने छौ’ प्रवक्ता राईले भन्नु भयो । बलत्कार तथा यौनजन्य अपराध सम्वन्धमा प्रहरी समक्ष फस्ट इन्र्फमेशन रिपोर्ट (एफआईआर) दर्ता भएको २५ दिन भित्र अनुसन्धान गरी अनिवार्य अदालतमा पेश गर्नु पर्ने कानुनी व्यवस्था रहेको प्रवक्ता राईले बताउनु भयो ।

सन्दीपले आफूलाई भदौ ५ गते नगरकोट पुर्याएको र त्यसपछि नगरकोटबाट त्यही रात फर्किएर तिलगंगा क्षेत्रको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । सन्दीप हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा हुनु हुन्छ ।

सन्दीपमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै उहाँलाई १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ । मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ । उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने उल्लेख छ ।

नेपाली टोलीको नेतृत्व गर्दै सन्दीप केन्याविरुद्ध टी-२० आई सिरिजका लागी भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गर्नु भएको थियो । त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । केन्याविरुद्धको टी-२० आई सिरिज पछी सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट ईन्डिज जानु भएको थियो । उहाँले केन्याविरुद्धको एकदिवसीय सिरिज भने खेल्नु भएन ।

Facebook Comments