Tue. Apr 30th, 2024

ऋषि पञ्चमी पर्व आज भव्य रुपमा मनाइँदै

- तीजको व्रत आज समापन गरिंदै

फोटो : सामाजिक सञ्जाल

भिओको समाचार/काठमाण्डौं, २०७९ भदौं १६ गते बिहीबार । आज हिन्दूनारीहरुले ऋषि पञ्चमी पर्व भव्य रुपमा मनाउँदैछन् । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइँदैछ ।

महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गएर ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्ने चलन छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ ।

रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धती सहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारी रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन,गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ  भन्ने शास्त्रीय वचन रहेको  छ ।

सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । आज काठमाण्डौको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।

ऋषि पञ्चमी शुरु हुनुको मान्यता
महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती  प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्म हत्याको पाप भोग्नुपर्यो ।  यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिनुभयो ।

यसैकारण उब्जनी नहुने उषरभुमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसुदन सुवेदीले जानकारी दिनुभयो ।

रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धती सहित सप्त ऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो ।

रज भनेको फोहर हो जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ । यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल  र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

सप्तऋषिको पूजा गरेसँगै तीजको व्रत सम्पन्न हुने धार्मिक मान्यता छ ।

Facebook Comments