Mon. Dec 23rd, 2024

उच्चस्तरीय तलब सुविधा आयोग गठन, संयोजकमा पूर्व मुख्यसचिव पौड्याल

लीलामणि पौड्याल-फाईल फोटो

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ७ गते मंगलबार । सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने भएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय भएको बताउनुभएको छ ।

देशको आर्थिक अवस्था र खर्चको बहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब भत्ता पारिश्रमिक एवम् सुविधा पुनरवलोकन गरी सरकारलाई सिफारिस गर्न आयोग गठन गरिएको उहाँले बताउनुभयो ।

सरकारले पेश गरेको बजेट अनुसार तलब सुविधा वितरण नगरेको गुनासो गर्दै नायब सुब्बा, खरिदार तहका कर्मचारीले आन्दोलन गर्दै आएका थिए । ती कर्मचारीको माग संवोधन गर्न सरकार आयोग गठन गर्न बाध्य भएको हो ।

बैठकले विमानस्थलमा मात्र ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने यसअघिको निर्णय खारेज गर्ने निर्णय गरेको छ भने बालाजु-त्रिशूली सडक खण्डको मुड्खु तीनपिप्ले ५.५ किलोमिटर सडक निर्माण कार्य तत्काल अगाडि बढाउन विशेष परिस्थितिमा बोलपत्र आह्वान गरी खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो ।

त्यस्तै बैठकले फौजदारी कसुर दोस्रो शंसोधन नियमावली स्वीकृत गर्ने, विद्युतीय सुशासन आयोग आदेश स्वीकृति गर्ने र विदेशस्थित नेपाली नियोगको आर्थिक कार्यविधि स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

त्यस्तै बैठकले सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

Facebook Comments