Fri. May 17th, 2024

नेपाल बास्केटबल संघ र चाइना ट्रेड लिंक कम्पनीबीच सम्झौता

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ७ गते मंगलबार । खेल पोशाक र सामग्रीको अन्तर्राष्ट्रिय ब्रान्ड ली निङको आधिकारिक विक्रेता चाईना ट्रेड लिंक कम्पनी प्रा.लि.(सिटिएल) र नेपाल बास्केटबल संघबीच सम्झौता भएको छ ।

नेपाल बास्केटबल संघका अध्यक्ष भीम गुरुङ र सिटिएलका अध्यक्ष राजेन महर्जनले काठमाडौमा एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । सम्झौता अनुसार ली निङले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले भाग लिने महिला र पुरुष दुवैतर्फका सिनियर र जुनियर टोलीलाई खेल पोशाक उपलब्ध गराउने छ ।

चाइना ट्रेड लिंक कम्पनी प्रा.लि.(सिटिएल)ले बिषेश गरि फुटबल, बास्केटबल लगायतका ब्रान्डेड खेल सामग्रीहरुको उत्पादन गर्ने गरेको छ । साथै नेपालको खेल क्षेत्रको विकाशको लागि फुटबल, टेवलटेनिस र बास्केटबल जस्ता खेलमा प्रायोजन गर्दै आएको सिटिएलका अध्यक्ष राजेन महर्जनले बताउनुभयो ।

सिनियर राष्ट्रिय टिम, उमेरसमूह र थ्री बाई थ्री टिमले अबको दुई वर्षसम्म लिनिङको जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छन् ।

कुनै पनि खेलाडीको लागि ब्रान्डिङ एकदमै महत्वपूर्ण रहेको र पहिलो पटक अधिकारिक जर्सी लगाएर खेल्न पाउँदा राष्ट्रिय टोलीका कप्तान सदिना श्रेष्ठले खुशी ब्यक्त गर्नुभयो ।

ली निङले प्रायोजन वापत उपलब्ध गराउने सामग्री बाहेक संघ वा खेलाडीले ली निङका खेल पोशाक र सामग्री खरिद गर्दा ३० प्रतिशत छुट दिने पनि सम्झौतामा उल्लेख गरिएको छ । नजिकिदै गरेको साबा महिला च्याम्पियनसिपमा समेत राष्ट्रिय टोलीले ली निङको जर्सी लगाएर खेल्ने बताइएको छ । यो प्रायोजनले भविष्यमा नेपालको बास्केटबलमा राम्रो नतिजा ल्याउने सिटिएलका अध्यक्ष महर्जनको विश्वास छ ।

संघका अध्यक्ष भीम गुरुङले बास्केटबल टोलीलाई सहयोग गरेकोमा ली निङलाई धन्यवाद दिदै लामो समयदेखिको गृहकार्यले मूर्तरुप लिएकोमा खुशी व्यक्त गर्नुभयो । ली निङले प्रचार प्रसारका लागि बास्केबलका खेलाडी प्रयोग गर्न सक्ने र संघले ली निङको प्रचारमा सहयोग गर्नुपर्ने जनाइएको छ ।

नेपाली खेलकूद क्षेत्रको विकासमा यस किसिमका आदानप्रदानले महत्वपूर्ण उपलब्धि हासिल गर्ने सम्बन्धित क्षेत्रका विज्ञहरुको विश्वास रहेको छ ।

Facebook Comments