Sun. May 19th, 2024

काठमाण्डौं उपत्यकामा डेंगुका संक्रमित बढ्दै

काठमाण्डौं, २०७९ भदौं २ गते बिहीबार । पछिल्लो समय काठमाडौँ उपत्यका लगायत देशका धेरै जिल्लामा डेंगुको प्रकोप बढ्दै गएको छ ।

सामान्यतया काठमाडौँ उपत्यकामा दसैँ-तिहारको समयपछि डेंगु देखिने गरेकोमा अहिले नै डेंगुले धेरै जनालाई आक्रान्त बनाएको छ । यो चाँडै नियन्त्रणमा नआउने हो भने प्रकोपको रूप लिनसक्ने विज्ञहरुको आङ्कलन छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हरेक दिन डेंगुका शङ्कास्पद बिरामीको चाप बढ्न थालेको छ ।

अस्पतालका अनुसार १०/१५ दिन अघिसम्म उपत्यका बाहिरका संक्रमित मात्रै भर्ना हुने गरेकोमा पछिल्लो केही दिन यता उपत्यकामा डेंगुबाट संक्रमित बिरामीको सङ्ख्यामा वृद्धि भएको र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना हुनेको सङ्ख्या पनि बढ्न थालेको छ ।

अस्पतालमा दैनिकजसो डेंगुको लक्षण देखिएका र परामर्श गर्न आउनेहरूको सङ्ख्या अत्यधिक हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट प्रमुख डाक्टर शेर बहादुर पुनको भनाइ छ ।

उहाँले भन्नुभयो ‘यसरी अस्पतालमा बिरामीको चाप बढ्नु भनेको समुदायस्तरमा डेंगु फैलिसकेको बुझ्न सकिन्छ, यो थप बढ्ने र महामारीको रूप लिनसक्ने भएकाले यसतर्फ समयमै सचेत रहनुपर्ने देखिन्छ ।’

अस्पतालको ओपिडी कक्षमा दैनिक ३०–४० जना डेंगुसँग मिल्ने लक्षण भएका बिरामी आउने गरेको र जसमध्ये अधिकांशलाई डेंगु पुष्टि हुने गरेको अस्पतालले जनाएको छ ।

एकातर्फ पछिल्लो समय फेरी कोरोना संक्रमण पनि बढ्न थालेको छ भने अर्कोतर्फ परिवारका सबै सदस्य डेंगु संक्रमित हुँदै गएको पाइएकाले अहिले कोरोनाभन्दा पनि डेंगुले बढी दुःख दिइरहेको अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. पुन बताउनुहुन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार हाल ६१ जिल्लामा डेंगुका संक्रमित भेटिएका छन् । गत माघदेखि १५ साउनसम्म १ हजार १ सय २६ जना डेंगुबाट संक्रमित भएका छन् ।

यो तथ्याङ्क डेंगुको शङ्का लागेर अस्पताल पुग्नेहरूको मात्र भएकाले डेंगुबाट संक्रमित भएकाहरू यो भन्दा बढी हुन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. पुनको भनाई छ ।

एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने गर्दछ । चिकित्सकहरूका अनुसार ३ देखि १० दिनसम्म लगातार ज्वरो आउनु डेंगुको लक्षण हो ।

डेंगु ज्वरो आउँदा शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्म हुने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिने गर्दछ ।

यसको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्दछ । खासगरी यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा शरीर ढाकिने लुगा लगाउने, सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्दछ । रेडियो नेपाल

Facebook Comments