Mon. May 6th, 2024

दार्चुलाको शैल्यशिखरमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

काठमाण्डौं, २०७९ भदौं १ गते बुधबार ।  दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका-६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतिक विष्टले जानकारी दिनुभयो।

 दुर्घटनामा ज्यान गुमाउनेमा बझाङको बुङगल नगरपालिकाका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहनुभएको छ। मृतक रैभान र चम्फा श्रीमान श्रीमती हुनुहुन्छ।

जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित थप नौ जना घाइते भएका छन्। घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको डीएसपी विष्टले बताउनुभयो।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। पाँच जनाको सिट पास रहेको जीपमा १४ जना बोकेको पाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको र स्थानीय र प्रहरीले उद्धार कार्य गरेको उहाँले बताउनुभयो।

दुर्घटनामा घाइते धनबहादुर जागरीका अनुसार गाउँबाट कामको खोजीमा हिँडेका पाँच जनाको दुर्घटनामा मृत्यु भएको हो। गोरखापत्र अनलाईन

Facebook Comments