Sun. Nov 24th, 2024

नागरिकता विधेयक प्रतिनिधि सभाबाट स्वीकृत

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं २ गते बिहीबार । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गर्नुभएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनःविचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नु भएको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल जारी छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक संसद्बाट पुनःविचार हुन आवश्यक देखिएको भन्दै गत साउन २९ मा प्रतिनिधिसभामा फिर्ता पठाउनु भएको थियो ।

नेपाल नागरिकता(पहिलो संशोधन) विधेयक, २०७९ लाई आजै पारित गर्ने संसद्को कार्यसूची छ ।

Facebook Comments