Sun. May 5th, 2024

नेपाल सधैं एक चीन नीतिमा प्रतिबद्ध : सभामुख सापकोटा

सभामुख अग्नि सापकोटासँग भेटवार्ता गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी । फोटो : सभामुखको निजी सचिवालय

भिओके समाचार/काठमाण्डौं, २०७९ साउन २७ गते शुक्रबार । सभामुख अग्निप्रसाद सापकोटाले नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध रहेको र नेपाली भूमि छिमेकी राष्ट्र विरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैं चनाखो र सचेत रहेको बताउनु भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग आज भएको भेटका क्रममा सभामुख सापकोटाले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो  ।

भेटवार्ता सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार बिहान भएको  थियो । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

राजदूत होउ यान्छीले नेपाल चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिवद्धताको उच्च प्रशंसा गर्नुभयो । नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैब दृढ समर्थन गर्दै आएको उहाँले बताउनु भयो ।

राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको सभामुख सापकोटाको निजी सचिवालयले जनाएको छ ।

Facebook Comments