Mon. Dec 23rd, 2024

श्रीलङ्कामा सङ्कटकाल घाेषणा

काठमाण्डौं, २०७९ असार २९ गते बुधबार । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घले देशमा सङ्कटकाल घोषणा गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताका अनुसार देशको पश्चिमी प्रान्तमा निषेधाज्ञा पनि जारी गरिएको बीबीसीले जनाएको छ ।

यसैबीच श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षे भागेर माल्दिभ्स पुगेको खवर समाचार एजेन्सीहरुले लेखेका छन् । राष्ट्रपतिले देश छाडेपछि राजधानी कोलोम्बोमा प्रदर्शनकारीहरुले खुसीयाली मनाइरहेका छन् । प्राप्त समाचार अनुसार राष्ट्रपति राजपाक्षे श्रीमतीसहित श्रीलङ्का वायु सेनाको विमानबाट माल्दिभ्सको राजधानी माले पुग्नुभएको छ ।

श्रीलङ्काको वायुसेनाले राष्ट्रपति गोटाबय राजपक्ष, उहाँकी पत्नी र दुई सुरक्षाकर्मीलाई माल्दिम्स जान सैन्य विमान उपलब्ध गराइएको पुष्टि गरेको छ। त्यसका लागि सरकारले अनुरोध गरेको सेनाको भनाइ छ। तर उहाँ माल्दिभ्समै बस्नु हुन्छ वा अन्यत्र जान तत्काल त्यहाँ जानु भएको हो भन्ने स्पष्ट छैन।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएदेखि नै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गर्दै आएको छ । यसले गर्दा देशभरि खाद्य, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको व्यापक अभाव भएको छ ।

Facebook Comments