Sat. May 18th, 2024

अमेरिकाको न्यूयोर्क राज्यको एउटा सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु

काठमाण्डौ, २०७९ जेठ १ गते आईतबार । अमेरिकाको न्यूयोर्क राज्यमा एकजना किशोरले एउटा सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ।

प्रहरीले उक्त घटनालाई जातीय रूपमा प्रेरित घृणायुक्त अपराधको रूपमा अनुसन्धान भइरहेको जनाएको छ। बफलो सहरमा घटनास्थलबाटै १८ वर्षीय किशोरलाई पक्राउ गरिएको छ। प्रहरीले उनको नाम खुलाएको छैन।

ती सन्दिग्ध व्यक्तिले शनिवार दिउँसो व्यस्त सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएका थिए। प्रहरीका अनुसार ती किशोरले आफूले गरेको आक्रमण अनलाइनमा प्रत्यक्ष प्रसारण गर्न क्यामराको प्रयोग गरेका थिए। सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले उक्त हमलालाई “हिंसक अतिवादी कृत्य” को सङ्ज्ञा दिएको छ।

ती सन्दिग्ध कैयौँ घण्टा सवारी चलाएर उक्त सहरस्थित अश्वेत समुदायको बाहुल्य रहेको क्षेत्रमा पुगेका थिए। कुल १३ जनालाई गोली लागेकोमा अधिकांश व्यक्ति अश्वेत समुदायका भएको बफलोका प्रहरी प्रमुखले बताएका छन्।

सीबीएससँग कुरा गर्दै एक प्रहरी अधिकारीले आक्रमणका बेला ती सन्दिग्ध व्यक्तिले अपमानजनक टिप्पणी गरेका थिए।बीबीसी

Facebook Comments