Mon. Dec 23rd, 2024

आज मातातीर्थ औशी, मीठा मीठा खानेकुरा र वस्त्र भेटगर्दै आमाको मुख हेर्ने दिन

काठमाण्डौ, २०७९ बैशाख १७ गते शनिबार । आज बैशाख कृष्ण औंशी अर्थात आमाको मुख हेर्ने दिन । ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा वैशाख कृष्ण औंशीलाई मातातीर्थ औंशीका रुपमा मनाउने गरिन्छ । आफ्नी आमालाई तीर्थ बराबर मानेर उपहार, मिठो खानेकुरा, नयाँ कपडा आदि दिने र आशिर्वाद लिने गरिन्छ ।

आमाप्रति सम्मान प्रकट गर्ने मानिसहरु आमा भए ठाउँ पुग्ने गर्छन । आमाले पनि छोराछोरीलाई दीर्घायु, सुस्वास्थ्यको आशिर्वाद दिने चलन छ । आमा नभएकाहरुले काठमाण्डौं उपत्यकाको दक्षिण-पश्चिममा रहेको मातातीर्थ कुण्डमा स्नान गरी आमाको सम्झनामा दान गर्ने परम्परा छ ।

तर प्रत्येक वर्ष वैशाख कृष्ण औंशीका दिन काठमाडौको चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा मेला लाग्ने गर्दछ । मातातीर्थ कुण्डमा स्नान गरी आमाको नाममा तर्पण, पिण्डदान एवं श्राद्ध गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । कुण्डमा दिवङ्गत आमाको मुखसमेत देखिने विश्वास समेत भक्तजनमा छ ।

मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’

उल्लेखित संस्कृत श्लोकहरूले आमा अर्थात् मातृ महिमा बोकेका छन् । शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरूले आमाबाट शुभ-आशिर्वाद ग्रहण गर्ने चलन छ ।

Facebook Comments