Sun. Dec 22nd, 2024

नेपाल बारको शनिबार सम्पन्न निर्वाचनमा ७१ प्रतिशत मत खस्यो

काठमाण्डौं, २०७८ चैत २० गते आईतबार । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको शनिबार सम्पन्न निर्वाचनमा लगभग ७१ प्रतिशत मत खसेको छ । हिजो शनिबार विहान ८ वजेदेखि दिउसो ४ वजेसम्म भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिनुभएको छ ।

२६औँ केन्द्रीय कार्यसमितिको लागि भएको सो निर्वाचनमा उपत्यकाको काठमाण्डौं केन्द्रसहित देशभर ३५ वटा स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । काठमाण्डौं केन्द्रमा ७१ प्रतिशतको हाराहारीमा मत खसेको छ । सबै मतपत्र काठमाण्डौं आइपुगेपछि मात्र मतगणना प्रारम्भ हुने बताईएको छ ।

यस पटक नेपाल बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा ९ हजार ७०८ मतदाता रहेका थिए । त्यसमध्ये काठमाण्डौं उपत्यकामा ५ हजार ७०० र उपत्यका बाहिर ३ हजार ५०० रहेका छन् ।

नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा भएको छ । उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गर्नुभएको छ ।

बारमा अध्यक्षका लागि व्यक्तिगतरूपमा र समूहगतरूपमा गरी ८ जनाको उम्मेदवारी परेको थियो । संसद्मा प्रतिनिधित्व नभएका साना राजनीतिक दल सम्बद्ध समूहबाट पृथ्वीनाथ राईले प्रतिनिधित्व गर्नुभएको थियो ।

नेमकिपा कानुन अध्ययन समाज नेपाल समूहबाट अनिता जोघारीले गर्नुभएको थियो । व्यक्तिगतरूपमा उत्तमबहादुर श्रेष्ठ र कमलप्रसाद मलेगाले अध्यक्षको उम्मेदवारी दिनुभएको छ । संसद्मा प्रतिनिधि नभएका साना राजनीतिक दल सम्बद्ध समूहबाट अमिता लक्ष्मी सैजु श्रेष्ठले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सम्बद्ध समूहको नेतृत्व उद्धवचन्द्र घिमिरेले गर्नुभएको छ ।

काठमाण्डौं केन्द्रका लागि सर्वोच्च अदालत परिसरमा चार बुथको व्यवस्था गरिएको थियो । काठमाण्डौं केन्द्रमा उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, ओखलढुङ्गा र सोलुखुम्बुका मतदाताले मतदान गर्ने व्यवस्था मिलाईएको थियो ।

Facebook Comments