Thu. May 2nd, 2024

३५ बर्ष पछि नेपाल र थाइल्यान्ड आमुन्ने सामुन्ने हुदै

काठमाण्डौं, २०७८ चैत १० गते बिहीबार । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज (बिहीबार) थाइल्यान्डको सामना गर्दै छ । चोनबुरी थाइल्यान्डमा खेलिने नेपाल र घरेलु टोली थाइल्यान्डबिचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ ।

फिफा वरियतामा १ सय १२ औं स्थानमा रहेको थाइल्यान्ड तुलनात्मक रुपमा नेपाल भन्दा बलियो टोली हो । नेपाल फिफा वरियताको १ सय ६७ औं स्थानमा छ । एसियन कप छनोटको तयारीका लागि खेलिने यो खेल नेपालका लागि निकै महत्वपूर्ण हुने छ र नेपाल जितको अविलासा सहित मैदान उत्रने छ । तर थाइल्यान्डविरुद्ध जित निकाल्न नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्नु पर्ने छ ।

नेपाल र थाइल्यान्ड ३५ बर्ष पछि एक अर्काविरुद्ध मैदान उत्रदै छन् । अन्तिम पटक दुई राष्ट सन् १९८७ मा ओलम्पिक छनोटका क्रममा एक अर्काविरुद्ध मैदान उत्रदै दुई खेल खेल्दा दुवैमा नेपाल ३-० र २-१ ले पराजित रहेको थियो ।

थाइल्यान्डविरुद्धको खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले युवा खेलाडीलाई अवसर दिन सक्नेछन् । यस टोलिमा एएफसी कप खेल्ने तयारीमा रहेका मछिन्द्र फुटबल क्लब तथा राष्ट्रिय टोलीकै ८ खेलाडीहरु टिमबाट बाहिर छन् र फिचर हुने छैनन् । थाइल्यान्डसँगको खेलपछि नेपालले १३ चैतमा थाइल्यान्डको चोनबुरी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोली
किरण चेम्जोङ (गोलकिपर), टिकेन्द्र थापा (गोलकिपर), दीप कार्की (गोलकिपर), आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीपक गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द

Facebook Comments