Mon. May 20th, 2024

एमसीसीलाई इन्डो प्यासिफिकको अंग बनाएको ओली सरकारले हो : माधवकुमार नेपाल

काठमाण्डौं, २०७८ फागुन १४ गते शनिबार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता यथास्थितिमा पारित हुन नसक्ने दावी पुनः दाहोर्‍याउनु भएको छ ।

नेकपा एकीकृत समाजवादी निकट प्राध्यापक संघ एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त्त कुरा बताउनु भएको हो । एमसीसीलाई इन्डो प्यासिफिक रणनीतिको अंग बनाउनका निमित्त ओली सरकारले सम्झौता गरेको र त्यो षडयन्त्रलाई भत्काएको उहाँले दावी गर्नुभयो । नेपालले विशुद्ध आर्थिक सहयोगको परियोजनाका रूपमा मात्रै एमसीसी स्वीकार गर्न सकिने बताउनु भयो । सरकारभन्दा देश र जनताको स्वाभिमान ठूलो कुरा हुने उहाँको भनाइ छ ।

नेपालले भन्नुभयो, ‘एमसीसीलाई इन्डो प्यासिफिकको अंग बनाएको केपी ओलीको सरकारले हो । ओली सरकारका मन्त्री प्रदिप ज्ञवालीले यस्तो कागजमा सही गरेर आएका हुन् । हामीले जोडदार विरोध गरिसकेपछि अहिले बाइडेनको सरकारले त्यसबाट नेपालको नाम काट्न लगाए । नत्र त केपी ओलीले सिध्याइसकेका थिए नेपाललाई ।’

नेपाल कुनै पनि देशको सुरक्षा रणनीतिको अंग बन्न नसक्ने नेपालले स्पष्ट पार्नुभयो । छिमिकी राष्ट्रको सुरक्षामा आँच आउने गरी नेपालले कुनै पनि काम गर्न नसक्ने पनि उहाँको भनाई थियो ।

यद्यपि, एमसीसी सम्झौता निशर्त हुनुपर्छ भनेर आफूहरुले नभनेको नेपालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘जुन उद्देश्यका लागि अनुदान दिइएको छ, त्यसमै खर्च हुनुपर्छ भन्ने कुरालाई चाहिँ अनुचित मान्नु हुँदैन ।’ नेपालले एमसीसी सम्झौताको विषयलाई जोडेर एमालेले सभामुख र आफूसहित पार्टीका नेताहरु प्रति गरेको व्यबहार प्रति आपत्ति जनाउनु भयो । उहाँले यसलाई अपराधिक मानसिकताको संज्ञासमेत दिनुभयो । आफूहरुका लागि सरकारभन्दा देश र जनता ठूलो हुने उहाँको भनाइ छ ।

Facebook Comments