Fri. May 17th, 2024

युक्रेन छाड्न अमेरिकाले गरेको प्रस्ताव राष्ट्रपति ‘जेलेन्स्कीद्वारा अस्वीकार’

काठमाण्डौं, २०७८ फागुन १४ गते शनिबार । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबाट उहाँलाई उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

“लडाइँ यहाँ भइरहेको छ। मलाई हतियार चाहिएको छ, कुनै सवारी होइन,” अमेरिकी समाचार संस्था एपीले वार्तालापबारे जानकारी भएका एक वरिष्ठ गुप्तचर अधिकारीलाई इङ्गित गर्दै जेलेन्स्कीले त्यसो भनेको जनाएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्की स्वयं रुस विरुद्ध यूद्धको नेतृत्व गर्दै

द वाशिङ्टन पोस्टले पनि अमेरिकी र युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सरकार जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको जनाएको छ।

रुसी हमलाविरुद्ध जनाएको प्रतिक्रियाका कारण जेलेन्स्कीको समाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता रहनु भएका उहाँले निरन्तर लडिरहने प्रतिबद्धता जनाउनु भएको छ । एउटा सम्बोधनमा उहाँले भन्नुभएको छ, “जब तिमीहरूले हामीलाई आक्रमण गर्छौँ हामी त्यसको सामना गर्छौँ, भाग्दैनौँ”

उहाँले आफैँले खिचेको एउटा भिडिओ पनि पोस्ट पोष्ट गर्नुभएको छ जसमा उहाँ र उहाँका सहयोगीहरू किएभमा देखिन्छन्। उहाँले भन्नुभएको छ, “हामी सबै यहाँ छौँ र यो यस्तै भइरहन्छ।” किएभको सडकमा रुसी ट्याङ्कले कारलाई हानेर हिँडेको भिडिओ सामाजिक सञ्जालमा देखा परेको छ।

रुसको रक्षा मन्त्रालयलाई उद्धृृत गर्दै रुसी सैनिकहरूले दक्षिणी युक्रेनको मिलिटोपोल नगर नियन्त्रणमा लिएको समाचार रुसी समाचारसंस्था इन्टरफ्याक्स र स्पुत्निकले प्रकाशित गरेका छन्। मिलिटोपोल युक्रेनको मुख्य बन्दरगाह मारिऊपोलनजिकै रहेको एउटा मध्यम आकारको सहर हो।

आत्मसमर्पणसम्बन्धी अफवाह युक्रेनी राष्ट्रपतिद्वारा खण्डन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफैँले खिचेको भिडिओ ट्विटरमा प्रेषित गर्दै आफूले सेनालाई रुससँग आत्मसमर्पण गर्न आह्वान गरेको भन्ने अफवाहको खण्डन गर्नुभएको छ । त्यस्तो अफवाहलाई निस्तेज पार्न उहाँ किएभका सडकमा आफैँ गएर त्यो सन्देश दिनु भएको हो ।

“मैले सेनालाई हतियार बिसाउन भनेको र ठाउँ छोड्ने क्रम सुरु भएको जस्ता निकै मिथ्या सूचनाहरू अनलाइनमा छन्,” उहाँले भन्नुभयो।

“म यहीँ छु। हामी हतियार बिसाउँदैनौँ। हामी हाम्रो राष्ट्रको प्रतिरक्षा गर्छौँ।”  बीबीसी

Facebook Comments